बागमती प्रदेश सरकारले ल्यायो एग्रिगेटर सूचना बैङ्क « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बागमती प्रदेश सरकारले ल्यायो एग्रिगेटर सूचना बैङ्क


२३ आश्विन २०७८, शनिबार


हेटौँडा । बागमती प्रदेशका सूचना सङ्कलन र भण्डारण गर्ने उद्देश्यले एग्रिगेटरको रुपमा सूचना बैङ्क सञ्चालनमा आएको छ ।

सूचना बैङ्कको शुक्रबार आन्तरिक मामिला तथा कानूनमन्त्री अजयक्रान्ति शाक्यले हेटौँडामा उद्घाटन गरेका छन् ।

उद्घाटनपछि सम्बोधन गर्दै मन्त्री शाक्यले बागमती प्रदेशको सूचना बैङ्कमा अब प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट उपलब्ध हुने जानकारी दिए ।

प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम सञ्चार रजिस्ट्रार कार्यालयमार्फत एग्रिगेटर सूचना बैङ्क सञ्चालनमा ल्याइएको हो । मन्त्री शाक्यले नेपालमा पहिलो पटक बागमती प्रदेशमा सूचना बैठक सञ्चालनमा आउनु गर्वको विषय भएको बताए ।

‘१४ वटा कार्यालयको सूचना अब सूचना बैङ्कमा आउनेछ,’ मन्त्री शाक्यले भने, ‘बागमती प्रदेशका ११९ वटै स्थानीय तहका सूचना आउने सक्ने गरी यसको विकास गरिनेछ ।’

मन्त्री शाक्यले मन्त्रालयले बागमती प्रदेशका सबै ऐन कानून एपमा राखेर चाँडै ल्याउने गृहकार्य गरिरहेको पनि जानकारी दिए ।

बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले सूचना उपभोक्ताले सूचना प्राप्त गर्न सम्बन्धित कार्यालयको वेबसाइट सर्च गर्नु नपर्ने भन्दै सूचना बैङ्कको पोर्टलमा सर्च गरेपछि १४ वटै कार्यालयका वेबसाइटमा राखिएका सूचना पाउन सक्ने गरी सूचना बैङ्क बनाइएको बताए ।

गभर्नेस अटोमेसन सोलुसनले तयार गरेको सूचना बैङ्कमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग, सञ्चार रजिस्ट्रारको कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, यातायात पूर्वाधार निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वेबसाइटमा राखिएका सूचना सूचना बैङ्कमा संग्रहित गराइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस