डोटीका तीन पालिकामा गुनासो सुनुवाइ व्यवस्थापन समिति गठन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डोटीका तीन पालिकामा गुनासो सुनुवाइ व्यवस्थापन समिति गठन


२१ आश्विन २०७८, बिहिबार


डोटी । जिल्लाका तीन पालिकामा गुनासो सुनुवाइ व्यवस्थापन समिति गठन गरिएको छ ।

युरोपियन युनियन र डीसिएको साझेदारीमा सञ्चालन हुँदै आएको परिवर्तन परियोजना द्वारा यहाँका शिखर नगरपालिका, जोरायल गाउँपालिका तथा केआइसिंह गाउँपालिकामा गुनासो सुनुवाइ व्यवस्थापन समिति गठन गरिएको हो ।

नागरिकका गुनासा पालिकामै सुनुवाइ गर्ने उद्देश्यका साथ उक्त समिति गठन गरिएको परिवर्तन परियोजनाले जनाएको छ ।

गुनासो सुनुवाइ व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ को अभिमुखीकरण तथा संवादसँगै नगरपालिकाका हकमा उपप्रमुख तथा गाउँपालिकाका हकमा उपाध्यक्षको संयोजकत्वमा ५/५ सदस्यीय समिति गठन गरिएको जोरायलका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा (४) क (१) को प्रयोजनका लागि परिवर्तन परियोजना सञ्चालित गाउँ तथा नगरपालिकामा गुनासो व्यवस्थापन समिति गठन गरिएको हो ।

नगरपालिकाको सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जबाफदेही बनाउन नीति, योजना तथा कार्यक्रमको कार्यान्वयन प्रक्रिया, प्राप्त उपलब्धि र त्यसले पारेको आर्थिक सामाजिक प्रभावको मूल्याङ्कन गरी नीति, योजना तथा सेवा प्रवाह प्रक्रियामा सुधार गर्न, सार्वजनिक कोषको अत्युत्तम परिचालन गरी अपेक्षित उद्देश्य प्राप्तिको सुनिश्चितता गर्न, नागरिकका गुनासो सुन्ने र जनप्रतिनिधि तथा कर्मचारीलाई थप जिम्मेवार बनाइ सार्वजनिक जबाफदेहिता अभिवृद्धि गर्ने समितिको उद्देश्य रहेको शिखरका नगर उपप्रमुख धौलीदेवी रावलले जानकारी दिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस