बागमती प्रदेशद्वारा सिन्धुपाल्चोक र नुवाकोटका बाढी-पहिरो पीडितलाई करिब दुई करोड सहयोग दिने निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बागमती प्रदेशद्वारा सिन्धुपाल्चोक र नुवाकोटका बाढी-पहिरो पीडितलाई करिब दुई करोड सहयोग दिने निर्णय


२० आश्विन २०७८, बुधबार


काठमाडौँ । बागमती प्रदेश सरकारले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुन: निर्माण तथा पुनः स्थापनाका लागि सिन्धुपाल्चोक र नुवाकोटलाई करिब दुई करोड रुपैयाँ दिने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री डा. अजय क्रान्ति शाक्यको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषबाट उक्त रकम निकासा गर्ने निर्णय गरेको हो।

अस्थायी आवास निर्माण र पुनर्निर्माणतर्फका लागि सिन्धुपाल्चोकलाई एक करोड ८८ लाख ७७ हजार ५०० र नुवाकोटका लागि अस्थायी आवास निर्माणका लागि सात लाख ६५ हजार रुपैयाँ पहिलो किस्ता बापतको रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराउने निर्णय भएको मन्त्री शाक्यले बताए।

बैठकले २०७७ जेठदेखि हालसम्म मनसुनजन्य बाढी पहिरो लगायत विपद्का घटनाहरूबाट क्षति पुगेका निजी घर परिवारलाई बागमती प्रदेश सरकारका तर्फबाट तत्काल गुजाराका लागि प्रतिपरिवार अधिकतम १० हजारसम्म जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम वितरण गर्ने पनि निर्णय गरेको छ।

मन्त्री शाक्यका अनुसार जसअन्तर्गत सिन्धुपाल्चोकका कुल लाभग्राही ३६६ जनाको ३६ लाख ६० हजार र नुवाकोटका कुल लाभग्राही ९३ जनाको नौ लाख तीस हजार प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिलाई रकम उपलब्ध गराउने निर्णय भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस