त्रिवेणी भन्सार अझै ठप्प « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

त्रिवेणी भन्सार अझै ठप्प


१९ आश्विन २०७८, मंगलबार


पूर्वी नवलपरासी । भारततर्फको वाल्मीकि नगर भन्सार भारत सरकारले नखोलेका कारण त्रिवेणी भन्सार खुले पनि नाका ठप्प छ ।

वाल्मीकि नगर भन्सारले हिजो (सोमबार) बिहानबाट पैदल आउजाउ गर्न दिए पनि गाडी चल्न दिएको छैन । गाडी र सामान आउजाउमा रोक लगाइएकाले त्रिवेणी नाका ठप्प बनेको हो ।

भारततर्फको भन्सार नखुलेका कारण समस्या भएको त्रिवेणी भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले बताए । नेपालबाट सामान र मान्छे पठाउँदा उता रोक्ने गरिएका कारण त्रिवेणी भन्सार मात्र खोल्नुको अर्थ नभएको उनको भनाइ छ ।

भारततिरको भन्सार नखुलेसम्म दुवैतिरका गतिविधि रोकिन्छन् । भारतको केन्द्र सरकारले वाल्मीकि नगर भन्सार खोल्ने परिपत्र नगरेका कारण समस्या थपिएको छ ।

वाल्मीक नगरका भारतीय सांसद (विधायक) सँग पनि नाका खोल्नेबारे पहल गर्न आफूले अनुरोध गरिसकेको उपाध्यायले जानकारी दिए ।

गण्डकी प्रदेश र भारत जोड्ने एक मात्र त्रिवेणी नाका १८ महिनाअघिबाट सिल थियो । सरकारले तत्काल त्रिवेणी नाका खोल्न परिपत्र गरिसकेको छ । तर, भारततर्फको नाका सिल नै रहेका कारण सामान आयात निर्यात हुन नसकेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस