भौतिक दूरी कायम गर्दै मास्कसहित दसैँ मनाउन प्रहरीको अनुरोध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भौतिक दूरी कायम गर्दै मास्कसहित दसैँ मनाउन प्रहरीको अनुरोध


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ । नेपाल प्रहरीले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकोले सतर्कतासहित चाडपर्व मनाउन आग्रह गरेको छ ।

६६औँ प्रहरी दिवसका अवसरमा काठमाडौँको गौशाला चोकमा आइतबार मास्क वितरण गर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री यस्तो आग्रह गरे । उनले भने, ‘दसैँ उल्लास तर सतर्कता सहित, सामिप्यता तर भौतिक दूरी कायम गर्दै मास्क सहित मनाउन अनुरोध गर्दछु ।’ प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मास्क वितरण गर्दै प्रहरीको हरेक काम कारबाहीमा आम नागरिकको उपस्थिति नेपाल प्रहरीलाई प्रेरणादायी स्रोतको रूपमा रहेको बताए ।

‘तपाईँको मास्क खोइ कार्यक्रम’ अन्तर्गत स्थानीयवासी, सवारी साधन तथा पैदल ओहोरदोहोर गर्ने महानुभावहरूलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीका साथै उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूले मास्क तथा जनचेतनामूलक पर्चा वितरण गरेका थिए ।

कार्यक्रम अन्तर्गत प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले सुनधारा, प्रहरी अतिरिक्त महानिरीक्षक नीरज बहादुर शाहीले बालाजु माछा पोखरी चोक, प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले कलकी चोक, प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले कोटेश्वर र प्रहरी नायव महानिरीक्षक राजेश कुमार लाल कर्णले सात दोबाटो चोकमा मास्क वितरण गरे ।

कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले गत वैशाख ६ गतदेखि ‘तपाईँको मास्क खोइ ?’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस