विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकको झगडाले सर्वसाधारण मारमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकको झगडाले सर्वसाधारण मारमा


१७ आश्विन २०७८, आइतबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकहरुबीचको झगडाले सर्वसाधारण मारमा पर्न थालेका छन् ।

विद्युत् प्राधिकरणले आफ्ना संरचना प्रयोग गरेर भाडा नतिरेको भन्दै इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको लाइन काट्न सुरु गरेपछि सर्वसाधारण मारमा परेका हुन ।

प्राधिकरणले पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिरेका सेवा प्रदायकहरूको लाइन काट्न सुरु गरेको हो ।

प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका अनुसार हिजोदेखि इन्टरनेट, टेलिफोन र केबल टेलिभिजनको लाइन काट्न सुरु गरिएको हो ।

तर मुख्य लाइन काट्दा धेरै उपभोक्तालाई असर पर्ने भएकाले साङ्केतिक रूपमा एक्सटेन्सन लाइन मात्र काट्न निर्देशन दिइएको दाबी प्राधिकरणको छ । उता, इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले भने विद्युत् प्राधिकरणले फाइबर तार काटेको आरोप लगाउँदै इन्टरनेट सेवा प्रवाह गर्न नसकिने अवस्था आएको बताएको छ ।

प्राधिकरणले भरतपुर, बुटवल, काठमाडौँ, विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ, खाडीचौर, धनगढीलगायतका स्थानमा फाइबर तार काटेको आइस्पानले जनाएको छ ।

विद्युत् प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ तथा अन्य कानूनलाई समेत उल्लङ्घन गर्दै इन्टरनेट ठप्प पारेको आरोप आइस्पानको छ । फाइबर र तार काटिएका कारण निजी क्षेत्रका आइएसपीहरुको इन्टरनेट सेवा प्रणालीमा ठुलो क्षति पुगेको र सेवा अवरुद्ध भएको आइस्पानको दाबी छ ।

चितवनमा मात्रै ८० हजार सेवाग्राही इन्टरनेट र टेलिभिजन सेवाबाट वञ्चित बनेको बताइएको छ । कोभिड–१९ को महामारीपछि नेपालमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या निकै बढेको छ ।

अनलाइन कक्षा, बैङ्किङ, रोजगारी, शेयर बजार, स्वास्थ्यलगायतका संवेदनशील क्षेत्र इन्टरनेटमा आधारित छन् । विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई तह लगाउने बहानामा इन्टरनेट काट्दै जाने हो भने एकै पटक ठुलो क्षेत्र प्रभावित हुने निश्चित छ । तर सरकार भने समस्या समाधान भन्दा पनि रमिते बनेर बसेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस