‘सङ्गठन सुदृढीकरणमा अवकाशप्राप्त प्रहरी महानिरीक्षकको भूमिका महत्वपूर्ण’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘सङ्गठन सुदृढीकरणमा अवकाशप्राप्त प्रहरी महानिरीक्षकको भूमिका महत्वपूर्ण’


१५ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीको सङ्गठन सुदृढीकरणमा अवकाशप्राप्त प्रहरी महानिरीक्षकको भूमिका महत्वपूर्ण हुने आज राजधानीमा आयोजित एक कार्यक्रममा औँल्याइएको छ । ६६ औँ प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापाक्षेत्री र अवकाश प्राप्त प्रहरी महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृतबीच आज यहाँ सम्पन्न अन्तरसंवादका वक्ताले सो विषय औँल्याएका छन् ।

प्रहरी महानिरीक्षक क्षेत्रीले अवकाश प्राप्त अग्रज प्रहरी महानिरीक्षक सङ्गठन प्रमुखको रूपमा रहँदा सङ्गठनको हित एवं श्रीवृद्धिका लागि पुर्‍याएको योगदानको चर्चा गर्दै सङ्गठन सुदृढीकरणका लागि उनीहरूको योगदान महत्वपूर्ण हुने औँल्याए । उनले अवकाशप्राप्त प्रहरी महानिरीक्षकको अनुभव, राय, सुझाव एवं निर्देशन सङ्गठनको नीति निर्माण तथा सुदृढीकरणमा उपयोगी हुने विश्वाससमेत व्यक्त गरे । प्रहरी महानिरीक्षक थापाले सङ्गठनको प्रणालीगत विकासको लागि हाल विभिन्न कार्ययोजना तय गरी लागू गरिएको जानकारी गराए।

अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले सङ्गठनको हितको लागि यस्ता अन्तरक्रिया जरुरी रहेको औँल्याउँदै प्रहरीले जनसहभागितामूलक कार्यक्रम अभिवृद्धि गर्नुपर्न सुझाव दिए । उनले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न उनीहरूको वृत्तिविकास, हकहितका विषयमा सङ्गठन केन्द्रित हुनुपर्ने धारणा राखे । समारोहमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहरा, श्यामभक्त थापा, ओमबिक्रम राणा, हेमबहादुर गुरूङ, रमेशचन्द ठकुरी, रविन्द्रप्रताप शाह, कुबेरसिंह राना, उपेन्द्रकान्त अर्याल, सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस