दसैँ लक्षित बजार अनुमगन र साँगा नाकामा कडाइ गर्न आग्रह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दसैँ लक्षित बजार अनुमगन र साँगा नाकामा कडाइ गर्न आग्रह


१३ आश्विन २०७८, बुधबार


भक्तपुर । दसैँ नजिकिएसँगै कालोबजारी मौलाउँदा उपभोक्ता ठगिने गरेको भन्दै जिल्लाका नगर प्रमुख एवं विभिन्न पार्टीका प्रतिनिधिले बजार अनुगमनलाई कडाइ गर्न माग गरेका छन् ।

उनीहरुले उपभोक्तालाई ठगिबाट जोगाउन तथा कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनगर गर्दै उपत्यकमा बाहिर जाने र भित्रिने नाकामा कडाइ गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई आग्रह गरेका हुन् ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको जोखिम उच्च रहेको अवस्थामा दसैँ तथा तिहारमा उपत्यका छाडेर बाहिर जाने र उपत्यका भित्रिनेको भीड रहँदा कोरोनाको जोखिम बढ्ने भएकाले साँगा नाकामा कडाइ गर्न आग्रह गरे । उपत्यकाबाट बाहिर जानेले कोरोना सङ्क्रमण गाउँगाउँमा फैलाउन सक्ने र उपत्यका भित्रिनेले कोरोना लिएर आउन सक्ने हुँदा उपत्यकामा महामारी फैलिन नदिन नाकामा कडाइ गर्नुपर्ने उनको भनाइ थियो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले प्रहरी प्रशासनले नाका कडाइ गरेर उपत्यकालाई कोरोना महामारीको तेस्रो लहरबाट जोगाउनुपर्ने बताए । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले कोरोना यस्तै हो भनेर लापरबाही गर्न नहुनेमा जोड दिँदै आउन सक्ने महामारीको तयारी र नाकामा कडाइलाई सँगसँगै लैजानुपर्नेमा जोड दिए ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सार्वजनिक यातायातमा यात्रुको भीड लाग्ने गरेको र स्वास्थ्यमापदण्ड लागू नभएकाले कोरोना महामारीको जोखिम बढ्दै गएको भन्दै यातायात व्यवसायीलाई सचेत गराउनुपर्ने आवश्यकता औँल्याइन् ।

नेपाली कांग्रेसका प्रतिनिधि राजाराम कार्कीले राजनीतिक दलले भेला गर्ने, जुलुस गर्ने, भाषण गर्न मिल्ने हामीले सामान्य कार्यक्रम गर्न नमिल्ने भन्दै जनताले दलहरुको कार्यक्रमप्रति आक्रोस व्यक्त गरेको बताए । उनले दसैँको मुखमा बजारमा कालोबजारी बढेको भन्दै अनुगमन कडाइ गर्नुपर्नेमा जोड दिए ।

नेपाल मजदूर किसान पार्टीका जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजूले भक्तपुर भित्रिने साँगा नाका कडाइ गर्नुपर्ने र बजारमा व्यापारीले गरेको ठगिलाई अपराधकै मान्यतामा राखेर कारबाही गर्नुपर्ने बताए ।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष शिवहरि खनालले बजार अनुमगनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले बजार अनुगमन गर्ने तर कारबाही नगर्ने हुँदा अपराध मौलाएको भन्दै कारबाहीको नीति ल्याउनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी शर्माले दसैँ लक्षित बजार अनुगमन तीव्र पारिने बताउँदै अनुगमनमा अनियमितता गर्नेलाई कारवाही गर्ने बताए । उनले चाडबाड लक्षित सुरक्षा व्यवस्थालाई कडाइ पार्ने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस