नेपाललाई सघाउने प्रतिबद्धता « प्रशासन
Logo १० कार्तिक २०७८, बुधबार
   

नेपाललाई सघाउने प्रतिबद्धता


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ । दक्षिण एसियाका लागि विश्व बैङ्कका उपाध्यक्ष हार्टविग सेफरले कोभिड–१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्न नेपाललाई सघाउने प्रतिबद्धता दोहोर्‍याएका छन्।

पाँच दिने नेपाल भ्रमण सम्पन्न गरी फर्किएपछि विश्व बैङ्कले जारी गरेको विज्ञप्तिमा उक्त प्रतिबद्धता दोहोर्‍याइएको उल्लेख छ ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा तथा अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका थिए । त्यस क्रममा उपाध्यक्ष सेफरले नेपालको कोभिड–१९ खोपको तीव्र विस्तार तथा आर्थिक पुनरुत्थानमा जोडसहितको कोभिड प्रतिकार्यको सराहना गरेका थिए ।

‘२०७२ सालको भूकम्पलगायतका विविध आघातबाट थप सशक्त रूपमा माथि उठेको र कोभिड–१९ महामारीबाट पनि थप सबल पुनर्निर्माणका लागि एउटा स्पष्ट नीतिसहित काम गरिरहेको नेपाल वास्तवमै उत्थानशीलताको एउटा बलियो दृष्टान्त हो,’ सेफरले भने ।

उनले विकासका लागि नेपालको साझेदार हुनुमा विश्व बैङ्कले गर्व गरेको र नेपालको हरित, उत्थानशील र समावेशी पुनरुत्थानका लागि सरकार, विकास साझेदारहरू, निजी क्षेत्र, नागरिक समाज र अन्य प्रमुख सरोकारवाला मिलेर काम गर्न प्रतिबद्ध रहेको जनाए ।

नेपालको हरित, उत्थानशील र समावेशी विकाससम्बन्धी यही असोज ७ गते आयोजना गरिएको उच्चस्तरीय सम्मेलनको अवसरमा जारी गरिएको काठमाडौँ घोषणापत्रमा हस्ताक्षर गर्न विश्व बैङ्क नेपाल सरकार र विकास साझेदारहरूको साथमा सहभागी भएको थियो ।

उक्त घोषणापत्रले ग्रिड भिजनप्रतिको नेपाल सरकारको प्रतिबद्धतालाई उजागर गर्दै सम्भावित प्राथमिकता लगानी, बजार प्रोत्साहन र नीतिहरू, संस्थागत कार्यलगायतका क्षेत्रहरू तथा ग्रिडतर्फको नेपालको यात्राका लागि आवश्यक सूचनासहित साझेदारहरूको सहयोगलाई एकताबद्ध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस