पानीको स्रोत जोगाउन जुट्यो काठमाडौँ महानगरपालिका « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पानीको स्रोत जोगाउन जुट्यो काठमाडौँ महानगरपालिका


९ आश्विन २०७८, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पानीको स्रोत जोगाउन थालेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार नन्दी स्कुलमा आकासेपानी सङ्कलन तथा भूमिगत पानी पुनःभरण प्रणाली निर्माणको शिलान्यास गरेका हुन्।

उनले नन्दी स्कुलको जमिनबाट पानीभित्र पठाएपछि यस आसपासमा भएका ढुङ्गेधारामा पानीको बहाव बढ्ने अपेक्षा गरे । महानगरको वातावरण इन्जिनियर निशा कोइरालाले उक्त विद्यालयको २९७ वर्गमिटर जलाधार क्षेत्रबाट जम्मा भएको पानी ७५० लिटरको पोली ट्याङ्क फ्लस डाइभर्टरमा पठाइन्छ बताए ।

जलाधार क्षेत्रमा भएको धुलो, कसिङ्गर वा अन्य फोहरसहितको पानी यसमा भरिन्छ । त्यसपछिको सफा पानी ट्याङ्क हुँदै एक हजार लिटरको फिल्टर युनिटमा पुग्छ । रोडा र बालुवामा त्यहाँबाट छानिएको पानी भूमिगत ट्याङ्कीमा खस्छ । पानी जम्मा गर्न ६ मिटर लम्बाइ, चार मिटर चौडाइ र १ दशमलव ८ मिटर उचाइ भएको ४१ हजार ७६० लिटर क्षमताको ट्याङ्की बनाइनेछ ।

काठमाडौं महानगरपालिकामा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले वडा ५ कार्यालय परिसरमा पनि यस्तै प्रकारको प्रणाली जडान गर्ने योजना रहेको उल्लेख गर्दै यसअघि कामपाले ०७६ साल फागुन ६ गते वडा २६ को गोङ्गबु आवास क्षेत्रको डबलीमा नमूना पानी पुनःभरण प्रणाली सुरु गरेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस