आज काठमाडौँसहित ७ जिल्लामा काँग्रेसको वडा अधिवेशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आज काठमाडौँसहित ७ जिल्लामा काँग्रेसको वडा अधिवेशन


५ आश्विन २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले काठमाडौँसहित सात जिल्लामा आज (मंगलबार) वडा अधिवेशन गर्दै छ।

आज हुने अधिवेशनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्।

भदौ १८ देशभरका छ हजार सात सय ४३ वडामा एकै दिन अधिवेशन गर्ने भने पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो।

बाँकी २० जिल्लामा आज अधिवेशन गर्ने भने पनि तीमध्ये १३ जिल्लामा अधिवेशन हुन सकेको छैन।

क्रियाशील सदस्यताको सूची नै सार्वजनिक नहुँदा प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लामा वडा अधिवेशन अन्योलमा परेको छ।

क्रियाशील सदस्यतासम्बन्धी विवाद पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य द्वय मिनेन्द्र रिजाल र रमेश लेखकले मिलाए पनि कार्यान्वयनमा आइसकेको छैन।

क्रियाशील सदस्यताको सूची पार्टी वेबसाइटमा नराख्दा प्रदेश २ का ८ जिल्ला, रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतमा वडा अधिवेशन अन्योलमा परेको छ।

आज काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन हुने काँग्रेसले जनाएको छ।

मोरङमा क्रियाशील सदस्यता विवाद भएपछि एक पक्ष अदालत पुगेको छ।

सह महामन्त्री सुनिलबहादुर थापा पक्षले अधिवेशन रोक्न माग गर्दै रिट दिएको हो। अधिवेशन सम्बन्धी सबै प्रक्रिया रोक्न माग गर्दै थापा पक्षधरले उच्च अदालत मोरङमा सोमबार रिट दिएका छन्।

थापा राप्रपा छाडेर काँग्रेस प्रवेश गरेका थिए। राप्रपा छाडेर थापासँगै काँग्रेसमा आएकाहरूले क्रियाशील सदस्यता नपाएको गुनासो गरिरहेका छन्।

समयमै वडा अधिवेशन हुन नसक्दा काँग्रेसले असोज ९ मा गर्ने भनेको गाउँ /नगर अधिवेशन प्रभावित हुने भएको छ। वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँ /नगर अधिवेशनका मतदाता हुन्छन्।

Tags :
प्रतिक्रिया दिनुहोस