सभामुख सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ आज हुँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सभामुख सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ आज हुँदै


४ आश्विन २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको मुद्दाको आज (सोमबार) सुनुवाइ हुँदै छ ।

नेकपा एमालेले आफ्नो नेतृत्वको सरकारविरुद्ध मतदान गरेको भन्दै माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको थियो । तर सभामुख सापकोटाले आफूहरुले गरेको कारबाहीको सिफारिस कार्यान्वयन नगरेको भन्दै एमाले सर्वोच्च अदालत गएको थियो ।

न्यायाधीशहरू दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दाउपर सुनुवाइ हुँदै छ ।

एमालेले साउन २५ को केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिइसकेपछि मात्र संसद् सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारबाही गर्नु नपर्ने जनाएको थियो ।

कानूनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले उनीहरुलाई सांसदको रुपमा संसदमा प्रवेश दिएको विरोधमा सदन अवरोध गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस