घुस नलिने २४ ट्राफिक प्रहरी पुरस्कृत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

घुस नलिने २४ ट्राफिक प्रहरी पुरस्कृत


१ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । इमान्दारीतपूर्वक सेवा प्रवाह गर्ने उपत्यकाका ट्राफिक प्रहरी पुरस्कृत भएका छन् ।

नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा घुस अस्वीकार गर्ने प्रहरी निरीक्षकसहित २४ ट्राफिक प्रहरीलाई शुक्रवार महानगरीय ट्राफिक प्रहरी महाशाखाले सम्मान गरेको हो ।

प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न महाशाखाले उक्त अभियान चलाएको र प्रलोभनमा पार्न खोज्ने चालकलाई कानुन अनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

नगद पुरस्कारसहित सम्मानित हुनेमा प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठ, प्रहरी हबलदार उमेश राम, लक्ष्मण यादव तथा जवानहरू किसानचन्द्र गौतम, धनवीर जिसी, सविना लम्जेल, प्रकाश थापा, नीरज थापा, हिक्मत रावल र सन्तोष धमला रहेका छन् ।

यस्तै प्रहरी नायब निरीक्षक मिलनकुमार सिंह, प्रहरी हबलदार ईश्वर सिंह धामी, भीमबहादुर बोहरा, नगकुल गिरी, विनोद गोतामे, सन्तोषकुमार साह, रामजी साह, प्रवीण मोक्तान, दधिराम बिसी, प्रहरी जवान हरिबहादुर सुनार, कुमार कोइराला, सविना थापा मगर, महेशराज पनेरु, गुणाकर अवस्थी, अरुणबहादुर अधिकारी पनि सम्मानित भएका छन् ।

उनीहरूलाई महाशाखा प्रमुख भट्टराईले प्रशंसा पत्रसहित खादा ओढाएर सम्मान गरेका थिए । प्रहरीले गत आर्थिक वर्षमा घूस दिन खोज्ने एक सय ६६ चालक पक्राउ गरेको थियो । यस आवमा घूस बापत रु ९० हजार एक सय ५५ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक सय ६५ चालक पक्राउ परेका छन् ।

चालकहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एवं प्रशंसा पत्रबाट सम्मान गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस