सरकारलाई चाहिने औषधि नेपाल औषधि लिमिटेडले उत्पादन गर्ने -महाप्रबन्धक सफिउल्लाह « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सरकारलाई चाहिने औषधि नेपाल औषधि लिमिटेडले उत्पादन गर्ने -महाप्रबन्धक सफिउल्लाह


१ आश्विन २०७८, शुक्रबार


नेपाल सरकारको स्वामित्वमा रहेका  दुई दर्जन भन्दा बढी संस्थाहरू मध्ये का एक हो नेपाल औषधि लिमिटेड ।  हुन त नेपाल टेलिकम र बिद्युत् प्राधिकरण जस्ता केही संस्थान बाहेक प्रायः जस्तोको अवस्था दयनीय छ र पनि सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेड बिस्तारै तङ्ग्रिन थालेको छ । विगतमा १४६ प्रकारका औषधि उत्पादन गर्ने औषधि लिमिटेड सिटामोलमा मात्रै सीमित भएको अवस्थामा यति बेला स्यानिटाइजर, ग्लिसिरिन र डिस्टिल वाटर उत्पादन गर्दै आएको छ । र, सरकारले निःशुल्क वितरण गर्दै आएका सबै खालका औषधिहरू यहीँबाट उत्पादन गर्ने लक्ष बोक्दै अघि बढेका छन् नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाह । 

आकर्षक सेवा सुविधा र सुविधायुक्त जीवनशैली छोडेर स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाले ओतप्रोत सफिउल्लाह लिमिटेडलाई जीवित तुल्याउन मात्रै होइन, विश्व बजारमै प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर योजना बनाई रहेका छन् । बिचमा आठ वर्ष बन्दसमेत भई सकेको विक्रम सम्मत २०२९ सालमा स्थापित लिमिटेडलाई कसरी पुनर्जीवन दिँदै हुनुहुन्छ त ? विगत, वर्तमान र भविष्यबारे नेपाल औषधि लिमिटेडका महाप्रबन्धक सफिउल्लाहसँग प्रशासन ब्युरोले गरेको कुराकानी ।

नेपाल औषधि लिमिटेडको औषधि उत्पादन अवस्था कस्तो छ ?

औषधि उत्पादन सेवा तथा राष्ट्र प्रतिको जिम्मेदारीको हिसाबले नेपाल औषधि लिमिटेडको औषधि उत्पादन आशावादी देखिन्छ  । विगत १० वर्षदेखि बन्द जस्तै अवस्थामा रहेको संस्थाले विगत ४ वर्षदेखि थोरै औषधिको उत्पादन सुरु गर्‍यो । तर, बजारको मागलाई सम्बोधन गर्न सकेको थिएन । 

मैले लिमिटेडको जिम्मेवारी सम्हाल्दै गर्दा पनि अवस्था सन्तोषजनक थिएन । अहिलेको कुरा गर्ने हो भने प्रमुख रूपमा सिटामोल, स्यानिटाइजर, ग्लिसिरिन र डिस्टिल वाटर हामीले उत्पादन गर्दै आएको छौँ । डिस्टिल वाटर ल्याबका मेसिन र एयरलाइन्समा प्रयोग हुने गरेको छ । पछिल्लो समय सिटामोल र जीवनजलको माग बढेकोले जनताप्रतिको जिम्मेदारी लाई बोध गर्दै यसको उत्पादनमा केन्द्रित भएका छौँ ।

सुरु सुरुमा जहाँ हेर्‍यो त्यही समस्या देखिन्थ्यो । तीन महिना त मलाई नीति नियम , परिवेश, मेसिनको वर्तमान अवस्था र जनशक्ति बुझ्नै लाग्यो । उत्पादन भएको छ, तर बजारमा खपत भएको छैन । बिक्री प्रवर्द्धनमा न त कुनै छ न त बजेट नै । पहिले किनेर राखेको उत्पादन र कच्चा पदार्थ पनि म्याद सकिन लागेको अवस्थामा थियो । केही महिना भित्रै म्याद सकिने अवस्थामा रहेका उत्पादनका बस्तु पनि थिए । यस्ता समस्याहरूलाई सुल्झाई सकेर पनि  अहिले बजारको आवश्यकता अनुसार सिटामोल र जीवनजलको उत्पादन प्राथमिकतामा परेको छ । कोरोना महामारीमा यसको माग अनुसार उत्पादन गरिरहेका छौँ ।

औषधि लिमिटेडसँग मेसिन र उत्पादन क्षमता के कस्तो छ ?

नेपाल औषधि लिमिटेडको इतिहास हेर्ने हो भने पहिला १४६ वटा औषधिको उत्पादनसम्म भएको छ । क्षयरोगको औषधि पनि संस्थाले उत्पादन गरेको देखिन्छ । ट्याब्लेट, क्याप्सुल, मलम, झोल सबै प्रकारका औषधि उत्पादन भएको पाइन्छ । तर, हामीसँग रहेको मेसिन ध्ज्इ(न्ःए मापदण्ड अनुसार नहुँदा बिचमा औषधि उत्पादनमा समस्या भयो ।

सरकारले आवश्यकता अनुसार प्रविधि र उपकरण उपलब्ध गराउन नसक्दा पनि केही समस्या आयो । पुराना  मेसिनहरू प्रयोगमा आउन सकेनन् । नयाँ मेसिन नल्याएसम्म उत्पादन नहुने अवस्था रह्यो । अहिले पनि  मेसिनकै अभावका कारण हामीले सोचे जस्तो उत्पादन दिन सकिरहेका छैनौँ । 

हामीसँग ट्याब्लेट बनाउने एउटा मात्र मेसिन छ । अहिले भएको मेसिनले आवश्यकता अनुसारको सिटामोल उत्पादन गर्न सकिरहेको छैन । सिटामोलको एक ब्याच तयार हुनका लागि २ देखि ३ दिन लाग्ने गर्दछ । यो उत्पादन प्रक्रिया अलि लामो छ । र पनि हामीले २ दिनमा ३ ब्याच निकाली रहेका छौँ ।

मेसिन नथपेसम्म अन्य उत्पादन गर्नसक्ने अवस्था छैन । तर, सरकारलाई चाहिने ७६ प्रकारका औषधि उत्पादन गर्नेतर्फ हाम्रो सोच बनाउँदै छौँ । मेसिन थपेर आवश्यकता अनुसारको औषधि उत्पादन गर्ने तर्फ तयारी पनि गर्दै छौँ । ट्याब्लेट र क्याप्सुल जति पनि आवश्यक छ, तिनको सहज उपलब्धताका लागि हामीले प्रक्रिया थालनी गरेको छौँ । मेसिनहरू थपेर सरकारलाईआवश्यक पर्ने औषधि उपलब्ध गराउने गरी हामीले काम गरिरहेका छौँ ।

मेसिन बाहेक अर्को समस्या छ जनशक्तिको, पुराना अनुभवी तथा टेक्निकल जनशक्ति जति अवकाशमा गए अहिले अति आवश्यक ठाउँमा करारमा नियुक्त गरी उत्पादन सुचारु गरेका छौँ सँगसँगै स्थायी नियुक्ति प्रक्रिया पनि अगाडी सारेका छौँ  । 

अहिले दैनिक रूपमा कति औषधि उत्पादन भइरहेको छ ?

अहिले नियमित रूपमा पाँच वटा उत्पादहरु, ग्लिसेरिन, पानी, सिटामोल र जीवनजल उत्पादन भइरहेको छ । आवश्यकता अनुसार स्यानिटाइजर उत्पादन गरे पनि अहिले सिटामोल र जीवनजल बढी प्राथमिकतामा छ । जीवनजल पहिले एक वर्षमा ३० देखि ३५ ब्याच निकाल्न हुन्थ्यो भने अहिले हामीले एक दिनमा ३ ब्याच निकाली रहेका छौँ । ४ ब्याच पनि निकाल्न सक्छौँ कि भन्ने प्रयासमा छौँ ।सिटामोल उत्पादन प्रक्रिया लामो भएकाले दुई दिनमा तीन ब्याच निकालेका छौँ । यसमा पनि अझै छिटो गर्न सकिन्छ कि भनेर हामीले हेरिरहेका छौँ ।

उत्पादित औषधिको खपत के कस्तो छ ? 

सिटामोलको सवालमा  सात देखि आठ करोड ट्याब्लेटको मार्केट देखिन्छ । तर वास्तविक मार्केट ५ देखि ६ करोड ट्याब्लेटको हाराहारीमा छ । पाँच करोड ट्याब्लेटको मार्केटलाई तुलना गर्‍यो भने नेपाल औषधिले विगत चार महिनामा लगभग एक करोड ट्याब्लेट सिटामोल दिन सफल भएको छ । २५ प्रतिशत हामीले ओगट्न सफल भएका छौँ । 

उत्पादनको सिलिङ हेर्‍यो भने केही सुधार गर्न सके सरकारको आवश्यकतामा रहेको सिटामोल र जीवनजल हामी उत्पादन गर्न सक्छौँ । यसका लागि तुरुन्त सिटामोलको मूल्य समायोजन आवश्यक छ । किनकि अहिले एक रुपैयाँ ३० पैसा पर्ने सिटामोल ७२ पैसामा दिइरहेका छौँ । यसमा सिधै घाटा देखिएको छ । घाटामा गएको संस्थाले घाटामै भएर पनि आफ्नो दायित्व प्रति तत्पर छ तर सरकारले यसलाई सम्बोधन गर्नु पर्ने देखिन्छ । यसका विभिन्न विकल्प हुन सक्छन् । जस मध्ये एक हुन सक्छ, उत्पादन थप्ने । अति आवश्यक केही उत्पादनहरू मात्र थपियो भन्ने हाल देखिएको घाटा लाई न्यूनीकरण गर्न सकिन्छ साथै सेवा दिने अवसर पनि  मिल्नेछ ।

अर्को दीर्घकालीन योजनामा काम गर्नुपर्ने हुन्छ । सरकारी संस्था भएकाले यसको पूर्वाधार विकास गर्नु पर्नेछ । अहिलेको न्यूनतम आवश्यकता अनुसार काम गर्नु पर्छ । सरकारलाई आवश्यक पर्ने ७६ प्रकारका औषधि उत्पादन गर्न सक्ने गरी अघि बढ्नु पर्छ । अर्कोतर्फ प्रत्यक्ष अप्रत्यक्ष ३० हजार परिवार सुरक्षित हुन्छन् । 

अहिले सबै मेसिन सञ्चालनमा छन् ?

पहिलेका मेसिन सञ्चालनमा छैनन् । ४ वर्ष अगाडि थपिएका मेसिन मात्र सञ्चालनमा छन् । हामीलाई मसिन पनि अपुग छ । जस्तो कि ट्याब्लेट र जीवनजल उत्पादनका मेसिन सञ्चालनमा छन् । अहिलेको जीवनजलको उत्पादनले बजारको माग पूरा गर्न सकेको छैन । यसका लागि अर्को थप मेसिन ल्याउने प्रक्रियामा छौँ ।   

पुराना मेसिन डब्लूएचओ–जीएमपीको मापदण्ड अनुसार छैनन् । त्यसैले ती मेसिन कोरिडोरमा थन्किएका छन् । अनुदानमा प्राप्त भएका कारण पनि हामीले ती मेसिन बेच्न पाउँदैनौँ ।

औषधिको मौजात कति छ ?खरिद ऐनका कारण हामी एकै पटक धेरै खरिद गर्न सक्दैनौँ । अहिले सरकारलाई आवश्यक पर्ने पारासिटामोल १० टन थियो । तर, हामीले त्यो एकै पटक खरिद गर्न सक्दैनौँ । सिटामोलको मूल्य घट्दै गएकाले भोलि के हुन्छ भनेर पर्ख र हेरको अवस्थामा छौँ । 
८ ब्याच हामी उत्पादनमा राखेका छौँ । यो भनेको एक महिनाका लागि पुग्ने हो । अनि अर्को भनेको प्रक्रियामा छ । फेरी प्यारासिटामोल कच्चा पदार्थ खरिद प्रक्रियामा रहेको छ त्यो १५ देखि २० दिनमा आइपुग्छ ।

सरकारी कम्पनीहरू घाटामा जानुको कारण के होला ?

यो रोक्न के गर्नु पर्ला ?हुन त सरकारी मात्रै होइन निजी क्षेत्रका कम्पनी पनि घाटामा गएका छन् । नेपालमा पहिलो दोस्रो फर्मास्युटिकल्स कम्पनीहरू पनि घाटामा गएका छन् । कति बन्द भएका छन् भने कति बन्द हुने हुने अवस्थामा छन् । कम्पनी घाटामा जानुका विभिन्न कारणहरू रहेको देखिन्छ र मुख्य कारणहरू भनेको बजारसँगको तालमेल र प्रविधिसँग अगाडी नबढ्नु हो । प्रतिस्पर्धा, सधैँ भरि अरूको नकल  गर्ने प्रवृत्ति, स्टाटेजिक प्रमोसन सिस्टम हामीले विकास गर्न नसकेका कारण पनि यो समस्यामा आएको हो । नेपाल सरकारको मातहतमा रहेकाले पोलिसी बेसका कुराहरू भए । अर्को स्किल बेस कमी देखिएकोले निजी क्षेत्रहरू पनि असफल भएका छन् ।

नेपालमा फर्मास्युटिकल्स मार्केट भनेको त्यति धेरै ठुलो एकैचोटी गइसक्नु पर्ने स्थिति छैन । छिमेकमै तुलना गर्ने हो भने पनि भारत, बङ्गलादेश र पाकिस्तानमा हुने औषधिको खपत र नेपालमा हुने खपत फरक छ । 

हामीले एउटा प्लान्ट लगाउँदा न्यूनतम ३० देखि ५० करोड रुपैयाँ लागत लाग्छ । त्यो लगानी गरेर रिटर्न कहिले हुने त ? त्यहाँ भएको उत्पादनलाई खपत कसरी गर्ने ? सरकारले के दायित्व लिने ? यही मात्रै गर्ने खपत गर्ने कि बाहिर पनि पठाउने ? बाहिर पठाउँदा त्यसको पारामिटरहरु के त ? यी विषयमा जबसम्म हामी सोच्दैनौँ तबसम्म प्रभावकारी हुन सक्दैन । यो भयो समग्रमा ।

जहाँसम्म नेपाल औषधिको कुरा हो, यसले घाटा र नाफा हेर्ने भन्दा पनि देशलाई चाहिने निःशुल्क औषधि आपूर्ति गरी सेवा दिनुपर्ने हो र यसको सम्पूर्ण व्यय सरकारले बेहोर्दिनुपर्ने  हो । 

कच्चा पदार्थ आयातको अवस्था कस्तो छ ?

कति सहज छ ?आर्थिक अवस्था कमजोर भएको कम्पनीलाई प्रमुख समस्या भनेकै कच्चा पदार्थ आयात हो । अर्कोतर्फ सरकारी कम्पनी खरिदका नियमावलीहरूमा बाँधिएका हुन्छन् । 

क्वान्टिटी बढाउने बित्तिकै सिलिङ भन्दा माथि जान पाइँदैन, जनै पर्ने भए प्रक्रिया लामो हुन्छ । त्यहाँनिर टेक्निकल्ली क्वान्टिटी कम किन्ने र फ्रक्वेन्सी बढाइ दिने हो । यो नियम सङ्गत पनि भयो । जसले बजेट व्यवस्थापनको पाटोमा पनि सहज हुने भयो । ‘रोटेशन अफ मनी‘ जुन छ त्यसलाई सहज बनाउने कोसिस भइरहेको छ ।

विशेष अनुमति लिएर जान सक्ने ठाउँमा टेन्डरबाट, कोटेसनबाट, जुन ठाउँमा ठुलो खरिद छ त्यो ठाउँमा त्यो पनि अपनाएका छौँ । मिक्सम्याक्स मोडलमा गइरहेका छौँ ।

नेपाल औषधि लिमिटेडमा जनशक्तिको अवस्था कस्तो छ ? जनशक्तिको पनि समस्या छ । २०५८ सालपछि नयाँ जनशक्ति भर्ना भएको छैन । औषधि कम्पनीमा चाहिने जनशक्ति भनेको प्राविधिक जनशक्ति हो । फार्मासिस्ट स्थायी रूपमा एक जना पनि छैन । 

यहाँ भएको जनशक्ति एकै ठाउँमा प्रयोग हुने एकै प्रकारका छन् । चार र पाँच तहमा कर्मचारी बढी छन् । त्यो भन्दा माथिल्लो तहमा आवश्यक पर्ने प्राविधिक जनशक्तिको अभाव छ । अधिकृत स्तरको कर्मचारीको पनि अभाव छ । आठौँ, नवौँ, दसौँ र एघारौँ तह खाली नै छ । यस विषयमा लोक सेवा आयोगसँग छलफल गरिरहेका छौँ । छिट्टै यो समस्या पनि समाधान हुन्छ । 

औषधि उत्पादनमा चुनौतीहरू के के छन् ?

पुँजी, जनशक्ति, बजार, मेसिन तथा आन्तरिक व्यवस्थापन र टेक्नोलोजी मैत्री हुन नसक्नु प्रमुख चुनौती हो । कुशल व्यवस्थापकीय पाटो महत्त्वपूर्ण चेनौती देख्छु मैले । 

अहिले व्यवस्थापकीय पाटोमा त तपाईँ नै हुनुहुन्छ नि ?मैले निर्दिसट व्यक्ति भन्दा समग्रमा कुरा गरेको हो । अहिले सम्म  यहाँ व्यवस्थापनमा आउने व्यक्तिले यो क्षेत्र यही क्षेत्र भन्दा अन्य अन्य क्षेत्र राम्ररी बुझे थिए होलान् । त्यसैले वहाँ हरूलाई काम गर्न त्यति सहज भएन जस्तो लाग्छ । मैले यही क्षेत्रमा दुई दशक भन्दा लामो समय काम गरेको छु । मलाई त्यति असहज भएन । तर, यो क्षेत्र नै नबुझेका व्यक्तिका कारण नै त हो संस्था कमजोर हुँदै गएको । मैले कुनै जादु गरेको भन्दा पनि कामलाई टिम सँग तालमेल गर्न मात्र सहयोगी भूमिका खेलेको हो । त्यसैले मैले एक्लै भन्दा पनि समूहगत परिणाम हो  र नतिजा तपाईँकै सामु छ ।  

सरकारसँग समन्वय गर्ने, उत्पादन कहाँ खपत गर्न सकिन्छ, बजारको आवश्यकता  बुझेको, नेपाल औषधिको उत्तरदायित्व के हो र कहाँ सहयोग गर्न सकिन्छ ? यो सबै बुझेको मान्छे नेपाल औषधिले पायो भने सरकार र संस्था दुवैलाई सजिलो हुन्छ ।

यी समस्या सुनुवाइ गर्ने निकायसँगका समन्वय के कतिको पाउनु भएको छ ? 

हामी उद्योग मन्त्रालय अन्तर्गत छौँ । तर हाम्रो उत्पादन स्वास्थ्य मन्त्रालय मार्फत जाने गर्छ । फेरी अर्कोतर्फ प्रदेशस्थित सामाजिक विकास मन्त्रालय पनि हामीसँग जोडिन आउँछ । विभिन्न पक्षसँग समन्वय गर्नुपर्ने आवश्यक छ । हामी आफ्नो तर्फबाट भरसक समन्वयका प्रयास गरेका छौँ र अगाडी पनि प्रयास जारी रहन्छ आशा छ एक दिन परिणाम सकारात्मक देखिन्छ । कमसेकम अहिले मन्त्रालय धाएर तलब खानु पर्ने समस्या टरेको छ । तर, उत्पादनमा विस्तार गर्न सकेनौँ भने यसले निरन्तरता नपाउन पनि सक्छ ।

औषधि लिमिटेडको बजारलाई कसरी सुधार गर्दै हुनुहुन्छ ? 

नेपाल औषधिले जनता प्रतिको दायित्व पुरा गर्न प्रत्येक प्रदेश सँग एक एक गरी समन्वय गर्ने कदम चलेका छौँ । सुरुवात प्रदेश १ बाट गरेका छौँ  हाम्रा उत्पादन सिटामोल, जीवनजल र स्यानिटाइजरलाई दिन सक्दो प्रयास गरेका छौँ र त्यहाँ बाट पनि अपेक्षाकृत सहयोग पाएका छौँ । त्यसपछि गण्डकी प्रदेशबाट आएको मागलाई सम्बोधन गर्‍यौँ । अहिले प्रदेश २ मा हामीले हाम्रो उत्पादन सेवा सुरु गरेका छौँ । यसले क्रमशः हामीलाई सफल बनाउँदै लगेको छ ।

औषधि लिमिटेडलाई उचाइमा पुर्‍याउन तपाईँसँग के कस्ता योजनाहरू छन् ?नेपाल औषधि लिमिटेडलाई आफ्नो लक्ष्यमा पुर्‍याउन दुई थरी योजना एकै चोटि समानान्तर रूपमा लानुपर्ने देखिन्छ । छोटो र लामो समयानुकूल योजना । सकेसम्म थोरै समय भित्र नेपाल औषधिका उत्पादनमा वृद्धि गरी हाल नेपाल सरकारलाई निःशुल्क बिरतरण को लागि चाहिने अतिआवस्यक औषधि पूर्ति गर्न सक्नु प्राथमिकता योजना रहेका छन् भन्ने नेपाल औषधिको भविष्यलाई सुनिश्चित गर्नु दिर्घजिवी योजना रहेको छ । दिर्घजीवि योजनाले नेपाल औषधिलाई आत्मा निर्भर बनाउनको साथै थप सेवा बिस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने छ   

औषधि लिमिटेड रहेको स्थान वरिपरि अहिले बस्ती बाक्लो भइसकेको छ । अर्कोतर्फ भवनहरू पुराना भएका छन् । जीर्ण छन् । यसलाई मर्मत गर्दै चलाउँदै गर्नु भन्दा विकल्प खोज्नु पर्ने छ । त्यसैले उद्योग अन्यत्र स्थानान्तरण गर्न प्रस्ताव गरेको छौँ । र यस विषयमा सञ्चालक समिति सहित सम्बन्धित निकाय पनि सकारात्मक हुनुहुन्छ । उपयुक्त वैकल्पिक स्थानको खोजी मा छौँ केही स्थान हेरिसकेका पनि छौँ । अहिले नेपाल औषधि लिमिटेड भएको स्थानमा मेडिसिन कम्प्लेक्स बनाउन सकिन्छ । 

मेडिसिन कम्प्लेक्सको बारेमा थोरै प्रकाश पारिदिनुस् न ? 

नेपालमा औषधिको व्यवस्थित एकत्रित बजारको अभाव छ, औषधि पाउने ठाउँ भनेको, क्षेत्रपाटी, सुनधारा र मंगलबजार जस्ता साँगुरा ठाउँहरू छन् । जुन ठाउँमा यातायातको सहजता छैन । औषधि टाउको बोकेर मुख्य सडक सम्म पुग्न असहज छ । बिरामीलाई चाहिने केही विशेष औषधिहरू रात्रि सेवामा पाउन पनि  मुस्किल छ ।  

यो अवस्थामा नेपालको औषधि बजारलाई एकत्रित र व्यवस्थित गर्न नेपाल औषधिले यो पहल गरेको छ । ठाउँ पनि सम्पूर्ण दृष्टिकोणले पायक, एका तिर औषधि व्यवस्था विभाग, अर्कोतिर स्वास्थ्य मन्त्रालय र सिङ्गदरवार पनि अगाडी नै । यसले रेगुलेटरी बाधा लाई समेत सहज गर्ने छ । नेपालमा जति पनि फर्मास्युटिकल्स कम्पनीहरू छन् तिनका डिस्ट्रिव्युटर्स सिस्टम यहाँ राख्न सकिन्छ । 

नेपाल औषधि मेडिसिन कम्प्लेक्समा, अन्डर ग्राउन्ड २ ताला पार्किङ हुनेछ, त्यसमाथिको ३ तलामा औषधि बजार हुनेछ, चौथो तलामा सर्किजल र हेल्थ फिटनेस का उत्पादन हुनेछन्, पाँचौँ तल्लामा फोल्डेबल विभिन्न साइजमा बनाउन मिल्ने तालिम तथा सेमिनार हलहरू हुनेछ, छेठौ तलामा फुड मार्ट र स्टेसनरी लोजिस्टिक तथा सातौँ तल्लामा नेपाल औषधिको कर्पोरेट अफिस हुनेछ  यो बाहेक फ्रन्ट र साइडमा मुख्य भवन सँग मिल्दो विभिन्न किसिमका संरचना हुनेछन् । 

लगानीको पाटोमा विभिन्न स्रोतहरू हुन सक्छन् । नेपाल सरकारको आफ्नै लगानी का अलावा रेभिन्यू शेयर नेपाल औषधिको लागि उचित विकल्प हुनसक्छ । यो योजना सफल कार्यान्वयन भयो भन्ने सरकारले नेपाल औषधिको आर्थिक भारबाट मुक्ति पाउने त भयो नै, संस्था पनि आर्थिक रूपले स्थिर हुने देखिन्छ र यो स्थिरताले जनता प्रतिको दायित्वमा अझ सहयोगी साबित हुनेछन् ।

नेपाललाई औषधिमा आत्मनिर्भर बनाउनेतर्फ लम्किरहेको तपाईँका पाइलाहरुलाई गति दिन कसबाट के कस्तो भूमिकाको अपेक्षा गर्नुहुन्छ ? अर्थात् कुन सरकारी निकायले के के गरिदिन जरुरी देख्नुहुन्छ ? 

नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन उद्योग देशप्रति जिम्मेदार हुनुका साथै लगानी को पार्टमा सक्षम हुनुपर्छ । औषधि व्यवस्था विभागले विदेशबाट दर्ता भैसकेका उत्पादन मात्र होइन स्वदेशी कुनै कम्पनी नयाँ उत्पादन लिएर आउने क्षमता राख्छ भन्ने सहयोग गर्नु पर्छ । सरकारले स्वदेशी र विदेशी मार्केटमा सहजता प्रदान गर्नु पर्ने देखिन्छ । नेपाल को औषधि बजार आफैमा सानो भएकोले विदेशी मार्केटमा पनि समन्वय र सहजीकरण गरिदिनु पर्छ । यस्तो वातावरण बन्ने भयो भन्ने, देशले औषधि उत्पादन गरी सेवा गर्ने र कन्सेप्ट बेची पैसा कमाउने माहौल बन्छ र यसले सरकार, उद्योगी र जनता सबैलाई समान लाभ मिल्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

नेपाल औषधि लिमिटेड भनेको सम्पूर्ण नेपालीको साझा संस्था हो । यो संस्था र उत्पादनप्रति विश्वास गरेर जनताले सिटामोल र जीवनजल प्रयोग गर्दै आउनु भएको छ । यसलाई हामीले सहज रूपमा उपलब्ध गराउने प्रयास पनि  गरिरहेका छौँ । जनताले माग्दा सिटामोल र जीवनजल दिन सक्ने सुनिश्चितता गर्न सक्यो भने र संस्था पुरानै लयमा फर्काउन सक्यो भने मात्रै पनि नेपालीको लागि गर्वको विषय हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस