हाइटीका प्रधानमन्त्री आङ्ग्रीले देश छाड्न नपाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हाइटीका प्रधानमन्त्री आङ्ग्रीले देश छाड्न नपाउने


३० भाद्र २०७८, बुधबार


काठमाडौँ । हाइटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई देश छाड्न रोक लगाइएको छ।

गत जुलाईको पहिलो साता भएको राष्ट्रपति जोभनेल मोइजको हत्यामा आङ्ग्रीको पनि संलग्नता हुनसक्ने देखिएकाले अनुसन्धान नसकिउन्जेल देश छाड्न रोक लगाइएको हो।

एक जना अभियोजनकर्ताले प्रधानमन्त्री आङ्ग्रीलाई मुख्य हत्या आरोपी जोसेप फेलिक्स बाडिओसँगको सम्बन्ध स्पष्ट पार्न लगाउँदै अभियोग दायर गर्ने तयारी गरिरहेका बिबिसीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा प्रधानमन्त्रीसँग ती व्यक्तिको बारम्बार टेलिफोन संवाद हुने गरेको देखिएको बताइएको छ। राष्ट्रपति मोइजलाई जुलाई ७ तारिखका दिन आफ्नै निवासमा बन्दुकधारीहरुले हत्या गरेका थिए।

२०१७ मा सत्ता सम्हालेका ५३ वर्षीय राष्ट्रपति मोइजले भ्रष्टाचारको आरोपको सामना गर्नुपरेको थियो भने यसैवर्षको सुरुमा राजधानीसहित विभिन्न सहरमा व्यापक प्रदर्शन समेत भएको थियो।

मोइजको हत्या आरोपितमध्ये ४४ जनालाई प्रहरीले पक्राउ गरिसकिएको छ। ती मध्ये १८ जना कोलम्बियाका अवकाश प्राप्त सैन्य अधिकारी रहेका जनाइएको छ। तीन जना हमलाकारीको भने प्रहरीसँगको भिडन्तमा सोही समयमा मृत्यु भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस