नमस्ते पे सञ्चालनमा « प्रशासन
Logo २ आश्विन २०७८, शनिबार
   

नमस्ते पे सञ्चालनमा


३० भाद्र २०७८, बुधबार


काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्कको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ हिजो (मंगलबार) सार्वजनिक गरेको छ । लामो समयको तयारी पश्चात् कम्पनीले हिजो (मंगलबार)देखि मोबाइल मनी सेवा सञ्चालनमा ल्याएको हो ।

मोबाइल वित्तीय सेवामार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पुर्‍याउने उद्देश्यले २०७६ वैशाख १९ गते नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्कबिच औपचारिक समझदारी भएको थियो । सो सम्झौताअनुसार टेलिकमको सहायक कम्पनीको रुपमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड स्थापना गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले आजदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए ।

यसअघि टेलिकम र बैङ्कका कर्मचारीहरुबीच परीक्षण पश्चात् औपचारिक रुपमा सेवा सुचारु गरिएको हो । सुरुआती चरणमा मोबाइल मनी सेवा एन्ड्रोइड फोनमा सञ्चालन गर्न सकिनेछ । सिइओ भण्डारीले ९५ प्रतिशतभन्दा बढी एन्ड्रोइड मोबाइलका प्रयोगकर्ता रहेको भन्दै सुरुआती चरणमा सो मोबाइलमा सेवा सञ्चालन गर्न सक्ने जानकारी दिए। कम्पनीले बिस्तारै आइओएस मोबाइलमा समेत सेवा सञ्चालन गर्न सकिनेछ ।

स्मार्ट फोनको अलावा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी युएसएसडि प्रविधिको माध्यमबाट इन्टरनेट नभएको स्थानमा मोबाइल वित्तीय सेवा सञ्चालन गर्न सकिनेछ । यस सेवालाई क्रमशः थप विविधीकरण गर्दै लगिनेछ । यसरी खोलिएको खाताबाट पाँच हजार रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ भने सो सेवालाई क्रमशः थप विविधीकरण गर्दै लगिने कम्पनीले जनाएको छ ।

यस प्रथम चरणको सेवामा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत् महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछन् । यसै गरी मोबाइल वालेटमा पैसा लोड गर्नको लागि नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्कसहित करिब ९ वटा बैङ्कहरूको खाता लिङ्क गरी पैसा लोड गर्न सकिनेछ भने बाँकी बैङ्कहरूबाट पैसा लोड गर्नको लागि क्रमशः व्यवस्था गर्दै लगिने कम्पनीले जनाएको छ ।

बैङ्कहरू सँगै कम्पनीको देशव्यापी एजेन्ट नेटवर्कबाट पैसा लोड गर्ने सुविधा पनि यथाशीघ्र सुरु गरिनेछ । यसको लागि एजेन्ट नेटवर्क तयार गर्ने कार्य भइरहेको छ । कम्पनीले नमस्ते पे वालेट छुट्टै मोबाइल वालेट सेवा रहेको भन्दै मोबाइलमा ब्यालेन्सबाट नै पैसाको उपयोग गर्न नसकिने जनाएको छ । वालेटमा बैङ्क वा एजेन्ट नेटवर्कमार्फत रकम लोड गरेर मात्र विद्युतीय भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ ।

सरकारीस्तरबाट पहिलो पटक सञ्चालन हुन लागेको पेमेन्ट गेटवेमा ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । यसअघि निजी क्षेत्रको लगानीमा सञ्चालित गेटवेको भन्दा नमस्ते पेको चुक्ता पुँजी बढी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस