चीनसँगको सीमा विवाद अध्ययन टोली हुम्लामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चीनसँगको सीमा विवाद अध्ययन टोली हुम्लामा


२६ भाद्र २०७८, शनिबार


सिमकोट । हुम्लामा चीनसँगको सीमा नाका अध्ययनका लागि सरकारले गठन गरेको अध्ययन टोली शनिबार सदरमुकाम सिमकोट आइपुगेको छ ।

टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने भएको छ । मौसमले साथ दिएमा १५ वटै स्तम्भको अध्ययन गरिने तर मौसमले साथ नदिएमा १३ वटा मात्रै स्तम्भको अध्ययन गरिने प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिए ।

गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य नेतृत्वको सात जनाको टोली शनिबार हुम्ला आएको हो । टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोल र सोही विभागले तोकेको दुई विज्ञ तथा नेपाल प्रहरीका अधिकारी रहेका छन् । अध्ययन टोलीले चीनसँग जोडिएको हुम्लाका सिमानाको अध्ययन गरेपछि चीनले सीमा मिचेको वा नमिचेको निष्कर्ष निकाल्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

गत वर्ष नाम्खा गाउँपालिका–६ लिमिको लोलुङजोङमा चीनले निर्माण गरेका भवन नेपाली भूमिमा भएको खबर सार्वजनिक भएपछि पहिलो पटक सरकारी टोली स्थलगत अध्ययनका लागि हुम्ला पुगेको थियो । गत वर्ष हुम्लामा पर्ने नेपाली क्षेत्रमा चिनियाँ पक्षले सीमा मिचेर केही संरचनाहरू निर्माण गरेको भन्ने विवाद उत्पन्न भएको थियो ।

यही भदौ १७ गते मन्त्रिपरिषद्ले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी र त्यस आसपासका क्षेत्रमा चीनले सिमाना मिचेको विषयमा स्थलगत अध्ययन गर्न समिति गठन गरेको थियो । टोलीले हुम्ला आइपुगेपछि जिल्लाका राजनीतिक दल, स्थानीय प्रशासक, नागरिक समाज, जनप्रतिनिधिलगायत आज सीमाका सम्बन्धमा छलफल भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस