फाइजर खोप भण्डारण गर्न माइनस ८० डिग्रीसम्म राख्न मिल्ने चार वटा फ्रिज ल्याइयो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

फाइजर खोप भण्डारण गर्न माइनस ८० डिग्रीसम्म राख्न मिल्ने चार वटा फ्रिज ल्याइयो


२५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । कोभिड १९ विरुद्धको फाइजर खोप भण्डारण गर्न मिल्ने चार वटा फ्रिज नेपाल ल्याइएको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत युनिसेफ मार्फत नेपाल आएको उक्त फ्रिजमा १ लाख २० हजार डोज खोप भण्डारण गर्न मिल्ने क्षमता छ ।

उक्त फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्मका खोप भण्डारण गर्न सकिन्छ । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार चार वटा फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने कूल १ लाख २० हजार डोज खोप राख्न सकिन्छ ।

नेपालले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई दिन भन्दै ६० लाख डोज फाइजर खोप खरिद गर्ने सम्झौता गरिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५० लाख डोज आगामी डिसेम्बरमा र १० लाख डोज जनवरीमा आउने तालिका रहेको उल्लेख छ ।

फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । नेपालमा अहिलेसम्म त्यस खालको भण्डार कक्ष थिएन । ‘कम्तीमा १० लाख डोज फाइजर खोप भण्डारण गर्न मिल्ने गरी खोप भण्डार कक्ष विस्तार गर्ने तयारी छ’ ढुंगानाले भने ।

नेपालमा अहिलेसम्म कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जोनसोन गरेर १ करोड ३३ लाख ५८ हजार ७१० डोज खोप आएको छ । ती खोपहरु सामान्य तापक्रम २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न मिल्छ । नेपालमा हालसम्म पूरा मात्रा खोप लगाउने १६ प्रतिशत छन् भने पहिलो मात्रा खोप लगाउने १८ प्रतिशत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस