पहिरोले विद्यालयमा क्षति « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पहिरोले विद्यालयमा क्षति


२१ भाद्र २०७८, सोमबार


बागलुङ । वर्षासँगै खसेको पहिराले काठेखोला गाउँपालिका–३ धम्जास्थित युनिक आधारभूत विद्यालयको दुई कोठे भवनमा क्षति पुगेको छ ।

शनिबार राति पहिरा जाँदा विसं २०७१ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयमार्फत बनेको भूकम्प प्रतिरोधी भवन क्षतिग्रस्त बनेको हो । एउटा कोठा कामै नलाग्ने गरी जगैदेखि भत्किएको र अर्को कोठामा आंशिक क्षति पुगेको विद्यालयका प्रधानाध्यापक मनोजकुमार विकले जानकारी दिए ।

उक्त भवनमा कक्षा ७ र ८ सञ्चालित थियो । भवन भत्किएपछि तत्कालै कक्षाकोठाको अभाव भएको प्रअ विकको भनाइ छ । ‘वडा कार्यालयमा क्षतिबारे जानकारी गराएका छौँ, विद्यालय पुनः निर्माणमा पहल हुनेमा आशावादी छौँ’, प्रअ विकले भने । उनले दरबन्दी अभावलगायतका समस्या झेलिरहेको विद्यालयमा प्राकृतिक विपद्को मार थपिएको बताए ।

विसं २०६७ मा स्थापना भएको विद्यालयमा चार शिक्षकको मात्र दरबन्दी छ भने बाँकी शिक्षक स्थानीय स्रोतबाट राखिएका छन् । विद्यालयले तल्लो तहदेखि नै अङ्ग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको छ ।

विद्यालयमा १०७ विद्यार्थी अध्ययनरत छन् । कोरोना महामारीका बेला पनि टोलशिक्षा लगायतका वैकल्पिक विधिमार्फत बालबालिकाको सिकाइ सहजीकरणलाई निरन्तरता दिइएको विद्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस