प्रभावितलाई व्यवस्थापन र भत्किएका संरचनाको पुनःनिर्माण तत्काल गर्न गृहमन्त्रीको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रभावितलाई व्यवस्थापन र भत्किएका संरचनाको पुनःनिर्माण तत्काल गर्न गृहमन्त्रीको निर्देशन


१९ भाद्र २०७८, शनिबार


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बाढी प्रभावितलाई व्यवस्थापन र भत्किएका संरचनाको पुनःनिर्माण तत्काल गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । शनिबार बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्न हेलम्बु र मेलम्ची पुगेका गृहमन्त्री खाँणले मेलम्ची र इन्द्रावती नदीमा आएकोे बाढीबाट हुने क्षति कम गर्न विभिन्न स्थानमा ‘चेकड्याम’ बनाउनुपर्ने बताए ।

मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स तथा बस्ती बचाउन कहाँ–कहाँ कति वटा ड्याम बनाउनुपर्ला भनेर विस्तृत अध्ययन गरिने उनले बताए । गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नं २ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।

गृहमन्त्रीसहित सो टोलीमा सांसद शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी थिए ।

गत असार १ र साउन १६ गतेको आएको वर्षाको कारण सो क्षेत्रमा पाँच जनाको मृत्यु, छ घाइते र २० बेपत्ता छन् । बाढीपहिराले १५ पुल, सडक खेत र सयौँ घरटहरासहित ठूलो धनजनको क्षति भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस