पोखरामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, ५ घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पोखरामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, ५ घाइते


१७ भाद्र २०७८, बिहिबार


पोखरा । पोखरामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । हिजो (बुधबार) दिउँसोदेखि परेको अविरल वर्षाका कारण पोखरा–२० भलाममा २ जना र पोखरा–११ काहुँमा १ जनाको मृत्यु भएको हो ।

भलाममा कृष्ण श्रेष्ठको टिनको घरमा पहिरो खस्दा कृष्ण र उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको मृत्यु भएको छ । सुनमायाको घटनास्थलमै मृत्यु भएको हो भने ४५ वर्षीय श्रेष्ठलाई उपचारका लागि मणिपाल अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरे ।

उनीहरुका नौ वर्षीय छोरा राजकुमारको टाउकोमा चोट लागेकाले उपचार भइरहेको छ भने ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

यसै गरी पोखरा–११ काहुँ भञ्ज्याङ नमुनाटोलस्थित लक्ष्य नेपालीको घरमा पहिरो खस्दा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पहिरोमा पुरिएर घाइते ४२ वर्षीय लक्ष्य नेपालीलाई अस्पताल पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

नेपालीकी छोरी १४ वर्षीया सृष्टि घाइते छिन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । परिवारमा रहेका ५ जना मध्य श्रीमती र २ छोरा सकुशल छन् ।

यसै गरी पोखरा–११ काहुँ बसेरीस्थित एकदेव तिमिल्सिनाको ब्लकको घरमा पहिरो खस्दा एकदेव, उनकी श्रीमती रितु र छोरा गिरिश घाइते भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस