वाईसीयल नेपालको २३१ सदस्यीय केन्द्रीय समिति चयन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वाईसीयल नेपालको २३१ सदस्यीय केन्द्रीय समिति चयन


१५ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीयल) नेपालको २३१ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ । मंगलबार सम्पन्न राष्ट्रिय भेलाले नयाँ केन्द्रीय समिति चयन गरेको हो ।

भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ । केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरू भने चयन गरिएको वाईसीयलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए । नयाँ केन्द्रीय समितिमा २३ जना भने पछि मनोनीत हुनेछन ।

इन्चार्ज दीपशिखाका अनुसार वाईसीयलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनीत गर्ने व्यवस्था गरिएकाले २३१ मध्ये २३ जना पछि मनोनीत हुनेछन् । उनले भने, “१० प्रतिशत पछि मनोनीत हुने गरी २३१ सदस्यीय केन्द्रीय समिति निर्माण गरेका छौँ । यो केन्द्रीय समिति निर्माण गर्दै हाम्रो संगठनको राष्ट्रिय भेला सम्पन्न भएको छ । राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रीय समितिले बैठक बसेर पदाधिकारी चयन गर्नेछ ।”

गएको शनिबारदेखि सुरु भएको वाईसीयलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दाबी गरेका थिए । तर, सहमति जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्ने गरी राष्ट्रिय भेलाले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा उद्घाटन गरेको भेलाले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दल बनाउने गरी युवालाई परिचालन गर्ने निर्णय पनि गरेको वाईसीयल नेपालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस