दक्ष युवा जनशक्ति उत्पादनमा सबैले जोड दिऊँ : मुख्यमन्त्री शाही « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

दक्ष युवा जनशक्ति उत्पादनमा सबैले जोड दिऊँ : मुख्यमन्त्री शाही


१२ भाद्र २०७८, शनिबार


कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दक्ष जनशक्ति उत्पादनमा सबैले जोड दिनुपर्ने बताएका छन्। नेपाल जेसीजको आयोजना तथा वीरेन्द्रनगर जेसीजको संयोजनमा हिजो (शुक्रबार)देखि सुर्खेतमा आयोजित दुई दिने सम्मेलनको उद्घाटन कार्यक्रममा उनले जेसिजलाई देश विकासका लागि दक्ष युवा जनशक्ति उत्पादनतर्फ जोड दिन आग्रह गरे।

दक्ष युवा जनशक्तिविना मुलुकको समृद्धि हुन नसक्ने बताउँदै उनले जेसीजलाई युवा नेतृत्व जन्माउने खालका अभियान सञ्चालन गर्न सुझाए। समाज रूपान्तरणमा नेपाल जेसीजको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले सामाजिक न्याय स्थापनाका निम्ति नागरिक संस्था लागिरहनुपर्ने बताए ।

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले मुलुकको विकास र समृद्धिको मेरुदण्ड युवा जनशक्ति भएको बताउँदै सामाजिक सद्भाव र मानव सेवामा जेसिजको अमूल्य योगदान रहेको विचार व्यक्त गरे।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले युवाको नेतृत्व विकास र सामाजिक रूपान्तरणमा जेसीज लागिरहेको बताए । युवाको सक्षमतालाई उपयोग गर्दै उनीहरुलाई उद्यममा लाग्न सरकारले स्वदेशमै टिकाउने खालका नीति तथा कार्यक्रम ल्याउन अध्यक्ष खनालले आग्रह गरे।

नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनबाट युवा पङ्क्तिलाई सकारात्मक सन्देश, नेतृत्व तथा व्यक्तित्व विकासमा सहयोग पुग्नुका साथै कर्णाली क्षेत्रको व्यापार, पर्यटन तथा पहिचान प्रवर्द्धनमा टेवा पुग्ने जिकिर गरे।

कार्यक्रममा युवा नेतृत्व तथा मानव विकासका लागि नेतृत्वका अभ्यासका विषयमा बहस, जेसीजका विशेष एजेन्डाका बारेमा छलफल हुनेछ । कोरोना महामारीको सङ्कटका बाबजुद सम्मेलनमा राष्ट्रिय पदाधिकारी, क्षेत्र ‘घ’का शाखा अध्यक्षको सहभागिता रहेको छ । अनलाइन जुम मार्फत ७०० सहभागी जोडिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस