लिथुवेनियाद्वारा नेपाललाई स्वास्थ्य सामग्री र उपकरण सहयोग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लिथुवेनियाद्वारा नेपाललाई स्वास्थ्य सामग्री र उपकरण सहयोग


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । कोरोना महामारी विरुद्ध लड्न लिथुवेनियाले नेपाललाई स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ।

युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत लिथुवेनियाले पठाएको ५ भेन्टिलेटर र २० अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।

पछिल्ला महिनाहरूमा लिथुवेनियासहित युरोपियन युनियनका १३ सदस्य राष्ट्र स्पेन, फिनल्यान्ड,फ्रान्स, बेल्जियम, जर्मनी, स्लोभेनिया, अस्ट्रिया, माल्टा, डेनमार्क, आयरल्यान्ड, इटाली र हङगेरीले नेपाललाई करिब १.७ अर्ब रुपैयाँ बराबरको मेडिकल सामग्री सहयोग गरेका छन्।

लिथुवेनिया नेपाल सरकारको सहायताको अपिललाई मध्यनजर गर्दै स्वास्थ्य उपकरण तथा सामग्रीहरू पठाउने युरोपियन युनियनका १३ सदस्य राष्ट्रमध्ये एक हो।

कठिन घडीमा लिथुवेनिया नेपाली जनताको साथमा रहेको नेपालका लागि लिथुवेनियाका राजदूत जुलियस प्रानिभिसियसले बताएका छन् ।“यस कठिन घडीमा लिथुवेनिया नेपाली जनताको साथमा छ। कोरोना महामारी विरुद्धको लडाइँमा ऐक्यबद्धता तथा संयुक्त प्रयास निकै महत्त्वपूर्ण छ,” नेपालका लागि लिथुवेनियाका राजदूत जुलियस प्रानिभिसियसले भने।

‘नेपाललाई एकदमै आवश्यक परेको बेलामा युरोपियन युनियन र यसका सदस्य राष्ट्रहरूले जीवन बचाउनका लागि आवश्यक स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएर उनीहरू नेपालका निकटका मित्र हुन् भन्ने कुरा देखाएका छन्, नेपालस्थित युरोपियन युनियन डेलिगेसनका कार्यवाहक राजदूत स्टिफेन माइकनले भने, नेपाल र यसका नागरिकहरू स्वास्थ्य तथा सुरक्षित हुनका लागि हामीले उनीहरूलाई प्रदान गर्ने सहयोगलाई भविष्यमा अझ बढाउने छौँ,’

अन्य दातृ निकायसँगको सहकार्यमा युरोपियन युनियनले मुलुकभरि नै ती सामग्रीको वितरण तथा प्रयोगलाई अनुगमन गरिरहेको छ । नेपालमा आएको सामग्री तथा सिनामङ्गलस्थित मानवीय स्टेजिङ्ग क्षेत्रबाट बाहिर पठाइएको सामग्रीको परिमाण स्वास्थ्य मन्त्रालयको ईलजिष्टिक्स् म्यानेजमेन्टस् सिस्टम(इलिमिस्) मार्फत अभिलेख राख्ने गरिएको प्रेस तथा सूचना अधिकृत अम्बर मैनालीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस