चोक चोकमा एन्टिजेन जाँच « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चोक चोकमा एन्टिजेन जाँच


१० भाद्र २०७८, बिहिबार


बागलुङ । निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजेन विधिबाट कोरोना जाँच गर्न थालिएको छ । सोमबारदेखि सदरमुकामका चोक चोकमा एन्टिजिन जाँच भइरहेको हो ।

बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजेनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए ।

उनका अनुसार बुधबार उपल्लाचौरमा २५ र सोमबार नारायण चोकमा ५० जनाको एन्टिजिन जाँच गरिएको थियो । त्यसमध्ये नारायण चोकमा गरिएको परीक्षणमा एक जनालाई कोरोना पोजेटिभ देखिए पनि बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ । ‘एन्टिजेन परीक्षणलाई हरेक दिन निरन्तरता दिन्छौँ, बाटैमा जाँच गर्दा निषेधाज्ञामा बिनाकाम हिँडडुल गर्ने पनि निरुत्साहित हुन्छन्’, खनालले भने ।

यसअघि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले एन्टिजिन परीक्षणको दायरा बढाउने निर्णय गरेको थियो । कोरोना परीक्षण गर्न नमान्ने, हिचकिचाउनेलाई पनि सम्झाई बुझाइ गरेर परीक्षण गर्ने गरिएको छ । एन्टिजिन विधिबाट परीक्षण गर्दा तुरुन्त रिपोर्ट आउँछ । लक्षण भएका व्यक्तिमा मात्र एन्टिजेनले पोजेटिभ नतिजा देखाउने गरेको जनस्वास्थ्य अधिकृत खनालले बताए। कोरोना सङ्क्रमितको छिटो पहिचान र समुदायमा महामारीको स्थिति पत्ता लगाउन एन्टिजेन विधि उपयुक्त मानिन्छ ।

जिल्लामा हालसम्म तीन हजार ४५५ को एन्टिजेनबाट कोरोना जाँच गरिएको छ भने २२ हजार २८७ को पीसीआर विधिबाट परीक्षण गरिएको छ । कूल परीक्षणमध्ये सात हजार ४२१ मा कोरोना पुष्टि भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या भने ३७० मात्र छ । यहाँ कोरोना सङ्क्रमणका कारण ६५ जनाको ज्यान गएको छ । सङ्क्रमणको जोखिम घटाउन गत साउन २८ गतेदेखि यहाँ कडा निषेधाज्ञा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस