काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु आज (बुधबार) बाट अनशनमा बस्ने भएका छन् ।
काँग्रेसको क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै बुधबारदेखि जिल्ला सभापतिहरुले २४ घण्टे रिले अनशन सुरु गर्न लागेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो (मंगलबार) धर्नामा बसेका जिल्ला सभापतिहरुले पार्टीलाई थप दबाब दिन रिले अनशन सुरु गर्न लागेको नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।
‘हिजो धर्ना दियौँ, अब हामी आजदेखि २४ घण्टे रिले अनशनमा बस्छौँ,’ सभापति केसीले भने, ‘पार्टीले हाम्रा मागको सुनुवाइमा ध्यान दिएको पाएनौँ । त्यसैले अनशन बस्ने निर्णय गरेका हौँ ।’
केसीका अनुसार बुधबार तीन जिल्ला सभापति अनशनमा बस्नेछन् । नुवाकोट जिल्ला सभापति केसीसहित काभ्रेका मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमला पहिलो दिन रिले अनशनमा बस्ने छन् ।
प्रत्येक दिन नयाँ तीन जिल्ला सभापति अनशनमा बस्ने केसीले जानकारी दिए । ‘जबसम्म हाम्रा मागबारे सम्बोधन हुँदैन, तबसम्म अनशन जारी रहन्छ,’ सभापति केसीले भने, ‘यो जिल्ला सभापतिको माग होइन, देशभरका क्रियाशील सदस्यको भावनाको प्रतिनिधित्व हामीले गरेका हौँ ।’