माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको आग्रह


३ भाद्र २०७८, बिहिबार


काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलले आफ्नो पत्रबमोजिम वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ प्रतिनिधिसभा सदस्यलाई छिटो कारबाही गर्न आज सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेको छ ।

गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई संसद्मा विश्वासको मत दिने बैठकमा मत नदिएको र गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको नीतिविपरीत विश्वासको मत दिएको स्थितिमा एमालेले ती सांसद्लाई कारबाही गर्न यही भदौ १ गते सङ्घीय संसद् सचिवालयमा पत्र पठाएको थियो ।

एमालेले राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ बमोजिम कारबाहीका लागि सिफारिस गरेकाले कानूनबमोजिम कारबाही नगरिए प्रतिरोध गर्ने जनाउ दिइएको सभामुखसँगको भेटपछि एमालेका मुख्य सचेतक विशाल भट्टराईले बताए ।

एमालेले जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई कारबाहीका लागि सिफारिस गरेको थियो । एमालेमा असन्तुष्ट नेता नेपाल पक्षले यही भदौ २ गते राजनीतिक दलसम्बन्धी अध्यादेशबमोजिम नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस