प्रहरी निरीक्षक वाग्लेको मृत्युबारे छानबिनका लागि समिति गठन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रहरी निरीक्षक वाग्लेको मृत्युबारे छानबिनका लागि समिति गठन


२९ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । पश्चिम नवलपरासी बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक(इन्स्पेक्टर) कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

शुक्रवार गृह मन्त्रालयले घटना सम्बन्धी छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो।

बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित इलाका प्रहरी कार्यालय अगाडी पूर्व-पश्चिम राजमार्गमा लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गत २५ गते प्रहरी निरीक्षक वाग्लेलाई ठक्कर दिएको थियो। ठक्करले घाइते उनको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको थियो।

यस घटनाको छानबिन गर्न मन्त्रालयका सहसचिव सुनिल खनालको संयोजकत्वमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीको समिति गठन भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्थलगत अध्ययन गरी सत्य तथ्य छानबिन गरी १० दिन भित्र प्रतिवेदन पेस भनेको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले घटनामा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मुकुन्दराज आचार्यलाई कारबाही गर्न माग गरेका थिए। प्रहरी निरीक्षक वाग्लेलाई दबाब दिएकोले मानसिक रूपमा असन्तुलित भएर अचेत अवस्थामा बाटो काट्ने क्रममा दुर्घटना भएको उनले बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस