दार्चुला घटनाबारे भ्रम सिर्जना हुने गरी समाचार प्रकाशित नगर्न गृहको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दार्चुला घटनाबारे भ्रम सिर्जना हुने गरी समाचार प्रकाशित नगर्न गृहको आग्रह


१७ श्रावण २०७८, आइतबार


काठमाडौँ । गृह मन्त्रालयले दार्चुला घटनाबारे भ्रम सिर्जना हुने गरी समाचार प्रकाशित नगर्न आग्रह गरेको छ । गृहले घटनाको अनुसन्धान तथा छानबिनको क्रम जारी रहेकोले सत्य तथ्य पुष्टि नभइसकेको अवस्थामा भ्रम सिर्जना हुने गरी सूचना सम्प्रेषण नगरिदिन आग्रह गरेको हो ।

यही श्रावण १५ गते दार्चुला जिल्लाको ब्यास गाउँपालिका–२ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी महाकाली तर्ने क्रममा जयसिंह धामी बेपत्ता भएका थिए । धामीसहितका व्यक्तिहरू भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनमार्फत महाकाली नदी तर्दै थिए । तुइन तर्ने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटिदिएपछि ३३ वर्षीय धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

उक्त घटनाप्रति सामाजिक सञ्जालमा आएका विभिन्न समाचारहरूप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । स्थानीय प्रशासनले पनि घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको छ ।

घटनाको अनुसन्धान, सत्य तथ्य जानकारी तथा खोज उद्धारका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल ४४ नं. गण र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिएर अनुसन्धान कार्य जारी छ ।

घटना भएको स्थान जिल्ला सदरमुकामदेखि ५ घण्टाको पैदल दूरीमा रहेको छ । घटनाको अनुसन्धानका लागि खटिएको टोली फर्किएपछि यथार्थ जानकारी हुने मन्त्रालयले जानकारी दिएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस