बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि कार्यान्वयनमा नआएको भन्दै पालिकामा तालाबन्दी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि कार्यान्वयनमा नआएको भन्दै पालिकामा तालाबन्दी


१४ श्रावण २०७८, बिहिबार


बैतडी । नेपाल सरकारले चालू आर्थिक वर्षबाट बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब रु १५ हजार पुर्‍याउने घोषणा गरेको भए पनि स्थानीय तहले कार्यान्वयनमा ल्याएका छैनन् ।

सरकारले बजेट भाषणमार्फत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब रु १५ हजार पुर्‍याउने घोषणा गरेको थियो । उक्त घोषणामा बढेको तलब स्थानीय तहबाट पाउने बताइएको थियो । तर बैतडीको पुर्चौडी नगरपालिकाले त्यसलाई कार्यान्वयन नगरेको भन्दै बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा आज तालाबन्दी गरेका छन् ।

नेपाल सरकारले बजेट भाषणमार्फत तलब बढाउने घोषणा गर्ने तर नगरपालिकाले कार्यान्वयन नगरेकाले आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको लटिनाथ आधारभूत सलेलीगाउँमा कार्यरत बालविकास सहजकर्ता द्रोपती खत्रीले बताइन्।

यसअघि विद्यालय कर्मचारी र बालविकास सहजकर्ताहरुले तलब बढाउनुपर्ने माग गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो । उनले भनिन्, ‘हाम्रा मागको सम्बोधन नहुँदासम्म तालाबन्दी जारी रहन्छ ।’ नगरपालिकाकी उपप्रमुख जानकी ऐर बमले उनीहरुको मागका विषयमा कार्यपालिकाको बैठकमा छलफल गरिने बताउँदै तत्कालका लागि ताला खोल्न आग्रह गरिन् ।

पुर्चौंडी नगरपालिकामा बालविकास सहजकर्ता र विद्यालय कर्मचारी गरी कूल १५१ जना कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस