राष्ट्रपतिद्वारा पहिलो युद्ध सङ्ग्रहालयको उद्घाटन(फोटो फिचर) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिद्वारा पहिलो युद्ध सङ्ग्रहालयको उद्घाटन(फोटो फिचर)


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकै पहिलो युद्ध सङ्ग्रहालयको उद्घाटन गरेकी छन् । आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सिन्धुलीगढी पुगेकी उनले उक्त युद्ध सङ्ग्रहालयको उद्घाटन गरेकी हुन् ।

नेपाली सेनाले करिब सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ। सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यु ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइन आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्रहरू, सिन्धुलीगढी युद्धको टाइम लाइन, सेनाको नजरमा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्रहरू, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरूले प्रयोग गरेका तोप, नेपाली योद्धा, ब्रिटिस योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरूको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्ताबेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए। नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौँ कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको जानकारहरू बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस