जिल्ला अदालत मनाङमा एक वर्षमा १२ वटा मुद्दा दर्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जिल्ला अदालत मनाङमा एक वर्षमा १२ वटा मुद्दा दर्ता


३१ असार २०७८, बिहिबार


मनाङ । हिमाली जिल्ला मनाङमा एक वर्षको अवधिमा १२ वटा मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न शीर्षकमा जिल्ला अदालत मनाङमा १२ वटा मुद्दा दर्ता भएका हुन् ।

जिल्ला अदालतले दिएको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । जिल्लामा एक वर्षको अवधिमा छ वटा सम्बन्धविच्छेदका घटना दर्ता भएको अदालतका स्रेस्तेदार तारादत्त बडुले बताए। उनले भने, ‘हिमाली जिल्ला मनाङमा अत्यन्त कम मात्रामा मुद्दा दर्ता हुन्छ । आव २०७७/०७८ मा १२ वटा मुद्दा दर्ता भएको छ । यसमध्ये पनि सबैभन्दा धेरै छ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका हुन् । छ वटामध्ये चार वटा फैसला भइसकेको छ, भने दुई वटा फैसला हुन बाँकी छ ।’

जिल्लामा सोबाहेक जबर्जस्ती करणी, बहुविवाह, कुटपिट, ज्यान मार्ने, सवारी दुर्घटना र अभद्र व्यवहारका घटना एक/एक वटा दर्ता भएका छन् । जिल्लामा कूल १२ वटा मुद्दामध्ये आठ वटा फैसला भइसकेको र चार वटा बाँकी रहेको स्रेस्तेदार बडु बताउँछन् । आर्थिक वर्ष २०७६/०७७ मा भन्दा यस वर्ष मुद्दा दर्ताको घटना बढेको तथ्याङ्कले देखाएको छ । विसं २०७६/०७७ मा जिल्लाभर नौ वटा मुद्दा दर्ता भएको थियो ।

मुलुकका विभिन्न जिल्लामा मुद्दाको चाप देखिए पनि जिल्ला अदालत मनाङमा भने अत्यन्त कम मुद्दा दर्ता हुने गरेको छ । मनाङ सानो र थोरै जनसङ्ख्या भएको जिल्ला भएकाले पनि यहाँ घटेका घटनालाई गाउँघरमा नै मिलाउन सहज भएको हुनुपर्छ । यहाँका समुदाय फरक नभई एउटै किसिमका भएकाले पनि उनीहरुबीच न्यायोचित ढङ्गले मेलमिलाप हुने स्रेस्तेदार बडुको भनाइ छ ।

उनी भन्छन्, ‘मनाङ सानो र थोरै जनसङ्ख्या भएको जिल्ला हो । यहाँ घटेका घटनालाई गाउँघरमा नै सहज तवरबाट मिलाइन्छ । यहाँ अधिकांश एउटै समुदायका मानिसको बसोबास छ, यस कारणले गर्दा पनि घटना नघट्ने र घटिहाले पनि एकापसमा न्यायोचित ढङ्गले मेलमिलाप हुने गरेको पाइएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस