प्राचीन इतिहास बोकेको पाटन दरबारलाई जीवन्तता दिनु हाम्रो कर्तव्य[भिडियो रिपोर्ट] « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्राचीन इतिहास बोकेको पाटन दरबारलाई जीवन्तता दिनु हाम्रो कर्तव्य[भिडियो रिपोर्ट]


१४ असार २०७८, सोमबार


ललितपुर । नेपालको इतिहासमा १७औँ शताब्दीतिर धेरैजसो धार्मिक एवं सांस्कृतिक सम्पदाहरूको निर्माण भएको पाइन्छ । तत्कालीन मल्लकालीन शासनकालमा मल्ल राज्यको एक शक्तिशाली राज्य पाटन रहेको बताइन्छ । वास्तुकलामा इतिहासको बेजोड नमुना यहाँका ऐतिहासिक धार्मिक सम्पदाहरूमा भेट्न सकिन्छ ।

काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो सहर मानिने यस सहरलाई प्राचीन कालमा युपग्राम, यल, मनिङ्ल, ललित पत्तन, ललितापुरी आदि नामले पनि चिनिने गरेको थियो ।

पहिलेको दरबार क्षेत्र अहिलेको ऐतिहासिक सङ्ग्रहालयका रूपमा छ । यस दरबार क्षेत्रले नेपालको प्राचीन इतिहास, धार्मिक समाज, संस्कृति, पर्यटकीय महत्त्व बोकेको छ ।

दरबार क्षेत्रका सम्पदाहरूमा कुँदिएका कलाकृतिले मानिसलाई लोभ्याउने गरेको छ । यस क्षेत्रमा रहेका मुख्य आकर्षणहरू कृष्ण मन्दिर, तलेजु, अन्य विभिन्न मन्दिरहरू, दरबारभित्रको गद्दी, यहाँका विभिन्न चोकहरू नै हुन् ।

वि.सं. १९९३ मा तत्कालीन राजा सिद्धिनरसिंह मल्लले यस कृष्ण मन्दिरको निर्माण गराएका हुन् । सिद्धिनरसिंह मल्ल धार्मिक झुकाव राख्ने राजाका रूपमा चिनिन्छन् । सिद्धिनरसिंह मल्लले नै आफ्ना इष्टदेवता तलेजु भवानी (तुलजा भवानी)को सानो मन्दिर पनि त्यहाँ बनाए । साथै देगुतलेजु मन्दिरको पनि निर्माण गराएका थिए ।

ढुङ्गाबाट मात्रै बनाइएको यो शिखर शैलीको कृष्ण मन्दिर बेजोड नमुना मानिन्छ । कृष्ण मन्दिरको वरिपरि २१ वटा गजुर राखिएका छन् । मन्दिरको वरिपरि भित्तामा रामायण र महाभारतका घटनाक्रम कुँदिएका छन् । यहाँ राधाकृष्णको मूर्ति पनि देख्न सकिन्छ ।

यस क्षेत्रमा स्थापित अन्य सम्पदाहरूमा हरि शंकर मन्दिर, नारायण मन्दिर, च्यासिंग देवललगायत रहेका छन् । यहाँका सम्पदाहरूमा लिच्विकालदेखीकै वास्तुकला देख्न सकिन्छ ।

५० रोपनी क्षेत्रफलमा फैलिएको यस दरबार स्क्वायरमा विभिन्न धार्मिक एवं ऐतिहासिक महत्त्वका चोकहरू रहेका छन् । पाटन दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा सिवाकोटीका अनुसार, पाटन दरबार परिसरमा तत्कालीन राजा योगनरेन्द्र मल्लले प्रयोग गर्ने गरेको ऐतिहासिक महत्त्व बोकेको गद्दी पनि राखिएको छ ।

बाहिरपट्टी राजा योगनरेन्द्र मल्लको सालिक छ, सालिकको टुप्पोमा निर्मित चरा बनाइएको छ । मर्ने बेला राजा योगनरेन्द्रले आफ्नो सालिकको टुप्पोमा निर्मित चरा नउडेसम्म आफूलाई जिउँदै छ सोच्नु भनेका थिए भनिन्छ । त्यसैले राजा योगनरेन्द्रलाई आजसम्म पनि जीवित राजाका रूपमा मानिन्छ ।

यसै क्षेत्रमा रहेको प्रसिद्ध मणिमण्डपको निर्माण वि. सं. १७५८ मा योगनरेन्द्र मल्लले गराएका थिए । दरबारको उपल्लो तलाको पश्चिमपट्टिको एक कोठाको झ्याल खुला राखी उनका लागि एउटा शयन कक्षसमेत बनाइएको छ ।

केवल राजपरिवारको वासस्थानका रूपमा मात्र नरही तिनताकाको प्रशासनको मूल केन्द्रका रूपमा समेत रहेको पाटन दरबार क्षेत्रलाई एक प्राचीन स्मारकको धरोहर मानिन्छ । सत्रौँ शताब्दी देखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ ।

श्रीनिवास मल्लले बनाएको नेपाली वास्तुकलाको बेजोड नमुनाका रूपमा रहेको भीमसेनको मन्दिर कृष्ण मन्दिरकै छेउमा रहेको छ ।

केशवनारायणचोक, मूल चोक र सुन्दरी चोक गरी पाटन दरबारमा मुख्य तीन वटा चोकहरू छन् । केशवनारायणचोक सबैभन्दा पुरानो चोक हो । वि. सं. १७३१ तिर राजा श्री निवास मल्लको शासनकालमा यसको जीर्णोद्धार भएको बताइन्छ । पाटन दरबारमा मल्लकालमा विभिन्न ७ वटा चोकहरू(न्हुछे आँगन, किसी, सहापु, न्हासल, दाफोस्वाँ र कुमारी) थिए ।

सुन्दरीचोकस्थित तुसाहिटी धारा पाटन दरबारको निकै आकर्षक धारा हो । सिद्धिनरसिंह मल्लको पालामा बनेको सुन्दरी चोकमा नेवारी वास्तुकलाका अनुपम दृश्यहरू यहाँ देख्न सकिन्छ ।

यहाँका सांस्कृतिक पर्वहरू पनि निकै अनुपम छन् । मच्छिन्द्रनाथको जात्रा, गाईजात्रा लगायत जात्राहरू पाटन क्षेत्रमा मनाइने जात्रा हुन् । गाईजात्राको भोलिपल्ट मनाइने मतया जात्रा विशेष गरी पाटन क्षेत्रमा मात्रै मनाइने गरिएको पाटन दरबार हेरचाह कार्यालयका निमित्त कार्यालय प्रमुख सिवाकोटी बताउँछिन् ।

अहिले कोरोना महामारीका कारणले यहाँको चहलपहल शून्य प्रायः छ । दुई वर्ष अगाडी दैनिक करिब १५ सयको हाराहारीमा विदेशी पर्यटकहरू अवलोकन भ्रमणका लागि यस पाटन दरबारमा आउने गरेका थिए ।

दरबार सङ्ग्रहालय परिसरमा प्रवेश शुल्क विदेशीलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ र स्वदेशी नागरिकलाई २५ रुपैयाँ तथा विद्यार्थीलाई १५ रुपैयाँ शुल्क तोकिएको छ ।

ललितपुर उपमहानगरपालिकाले पाटन दरबार सङ्ग्रहालयबाट मात्रै वार्षिक करिब १५ करोड रुपैयाँ आम्दानी गर्ने गरेको पाटन दरबार हेरचाह कार्यालयले जानकारी दिएको छ ।

वि.सं. २०७२ सालमा नेपालमा ७.६ रेक्टर स्केलको महाभूकम्प गएपछि पाटन दरबारका विभिन्न सम्पदाहरूमा क्षति पुर्‍याएको थियो । यस क्षेत्रमा रहेका करिब ३४ मन्दिरमा क्षति पुर्‍याएको निमित्त कार्यालय प्रमुख सिवाकोटीले बताइन् ।

यस दरबार परिसरमा भएको ऐतिहासिक अदालत भवनमा पनि भूकम्पले क्षति पुर्‍याएको थियो ।

अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, विभिन्न स्वदेशी तथा विदेशी सङ्घसंस्थाको सहकार्यमा पुनर्निर्माण कार्य भइरहेको छ । भूकम्पले देशभरका करिब ३२ जिल्लाका सांस्कृतिक सम्पदाहरूमा क्षति पुर्‍याएको थियो ।

२०७२ सालको भूकम्पले देशभरका गरी ९ सय २० सांस्कृतिक सम्पदाहरूमा क्षति पुगेको र जसमध्ये विश्व सम्पदा सूचीमा सूचीकृत १ सय ७० सांस्कृतिक धरोहरहरूमा क्षति पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्क छ ।

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३ (२)अनुसार प्राधिकरणको कार्य क्षेत्र भूकम्पबाट अति प्रभावित १४ र कम प्रभावित १८ गरी ३२ जिल्लाहरूमा रहेको छ ।

भूकम्पले देशभर छरिएर रहेका १ हजार ३ सय २० गुम्बामा क्षति भएको छ । मर्मत सम्भार भएका गुम्बाको सङ्ख्या २ सय ९४ छ भने मर्मत सम्भार गर्नुपर्ने गुम्बाको सङ्ख्या ४ सय २ रहेको छ । यस्तै पुनर्निर्माण गर्नुपर्ने गुम्बाको सङ्ख्या ८ सय ९५ छ ।

एक सय वर्षभन्दा पुराना गुम्बा २ सय ५० छन् । पुनर्निर्माण भइरहेका एक सय वर्षभन्दा पुराना गुम्बा ५ र दुई हजार वर्ग फिट भन्दा बढी क्षेत्रफल भएका गुम्बाको सङ्ख्या १४ छ ।

दुई हजार वर्ग फिट भन्दा बढी क्षेत्रफल भएका पुनर्निर्माण भइरहेका गुम्बाको सङ्ख्या ८ छ भने स्थानीय तह र गुम्बा व्यवस्थापन समितिबाट पुनर्निर्माण गर्नुपर्ने गुम्बाको सङ्ख्या ६ सय ३१ छ । स्थानीय तह र गुम्बा व्यवस्थापन समितिबाट पुनर्निर्माण भइरहेका गुम्बाको सङ्ख्या १ सय १ छ ।

भूकम्पबाट क्षति पुगेका ९ सय २० सांस्कृतिक सम्पदा पुनर्निर्माणको लक्ष्य दिइएकोमा हालसम्म ४ सय ९३(५३.६५) पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २ सय ८८ (३१.३५) पुनर्निर्माण हुँदै गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले प्रशासनलाई जानकारी दिए ।

भूकम्पबाट क्षति पुगेका ९ सय २० सांस्कृतिक सम्पदामध्ये उपत्यकाका तीन जिल्लामा मात्रै ४ सय ६ वटा छन् जसमध्ये पुनर्निर्माण सम्पन्न भएका २ सय ७ र चालु आर्थिक वर्षमा पुनर्निर्माण भइरहेको सम्पदाको सङ्ख्या १ सय ११ छन् ।

यस्तै उपत्यका बाहिरका जिल्लामा रहेका ३ सय ४४ क्षतिग्रस्त सम्पदामध्ये १ सय ७६ सम्पदाहरूको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १ सय २८ सम्पदाहरूको पुनर्निर्माण भइरहेको छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभागले नेपालका धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्वका सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्दै आएको छ ।

पछिल्लो भूकम्पले भत्किएका सम्पदाहरूको पुनर्निर्माण पहिलेकै अवस्थाजस्तै मौलिक विशेषतामा पुनर्निर्माण भइरहेको पुरातत्त्व विभागका प्रवक्ता राम बहादुर कुँवरले दाबी गरेका छन् । विभागका प्रवक्ता कुँवरले पुनर्निर्माण भएका र भइरहेका सम्पदाहरूको बेलाबेलामा अनुगमनसमेत भइरहेको बताएका छन् ।

विश्व सम्पदामा सूचीकृत पाटन दरबार केवल हाम्रो इतिहास मात्रै हैन हाम्रो शान हो, हाम्रो पहिचान हो । यो र यस्तै अन्य दरबार सङ्ग्रहालयलाई संरक्षण गरी जीवन्तता दिनु हामी सबैको कर्तव्य हो ।

Tags :
प्रतिक्रिया दिनुहोस