सोलुदूधकुण्डद्वारा बनाइयो स्थानीय पाठ्यक्रम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सोलुदूधकुण्डद्वारा बनाइयो स्थानीय पाठ्यक्रम


१२ असार २०७८, शनिबार


सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ ।

नगरपालिकाको भूगोल, पहिचान, जातजाति, भाषाभाषी, खानपान, रहनसहन, मौसम, पर्यटन, प्राकृतिक सम्पदा, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारजस्ता विषयलाई समावेश गरेर स्थानीय पाठ्यक्रम बनाएको नगरपालिकाले जनाएको छ ।

पाठ्क्रम निर्माण समितिका संयोजक एवं सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धवकुमार शर्माले शुक्रबार सो पाठ्यक्रम नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पालाई हस्तान्तरण गरे ।

सो अवसरमा नगरपालिकाका प्रमुख शेर्पाले नगरपालिकाअन्तर्गत सञ्चालित विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सर्वाङ्गिण विकासका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको र यसलाई आगामी आर्थिक वर्षदेखि लागू गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नगरभित्रका सबै समुदाय, भाषाभाषी, जातजाति र भेषभूषालाई प्रतिनिधित्व हुने गरी विज्ञ व्यक्तिको संलग्नतामा पाठ्यक्रम निर्माण भएकाले यसबाट बालबालिकाले स्थानीय ज्ञान सीप सिक्ने विश्वास व्यक्त गरे ।

पाठ्क्रम निर्माण समितिका संयोजक शर्माले नगरपालिको भूगोल, इतिहास, स्थानीय सरकार, संस्कृति सम्पदा, वन, वातावरण तथा सरसफाइ, स्थानीय आर्थिक विकासका आधार, सामाजिक विकासको अवस्था, पर्यटन, स्थानीय विकास पूर्वाधार, विपद् व्यवस्थापन र सुरक्षालगायत विषयलाई समावेश गरेर पाठ्यक्रम तयार गरिएकाले यो सबैको साझा हुने दाबी गरे ।

यो पाठ्क्रम नगर शिक्षा समितिको बैठक बसेर अनुमोदन गराई आगामी शैक्षिक सत्रबाट लागू गरिने नगरपालिकाका शिक्षा अधिकृत गोपालराज भुजेलले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा शिक्षकलाई अध्ययन गर्न दिइने छ । त्यसपछि मात्र पठ्यपुस्तक छपाएर विद्यालयमा पठाइने छ ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख कल्पना राई, प्रमुख प्रशासकीय अधिकृत लालबाबु कवारी, प्रवक्ता शारदामाया तामाङ र नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा नगर कार्यपालिकाका सदस्यहरुको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस