बाहिरबाट सरुवा लिएर गएको डिआइजीले आइजिपीलाई किन टेर्ने ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाहिरबाट सरुवा लिएर गएको डिआइजीले आइजिपीलाई किन टेर्ने ?


६ असार २०७८, आइतबार


सरकारी कर्मचारीको सरुवा नियमित प्रक्रिया भए पनि पछिल्लो समय सबैभन्दा धेरै ‘चलखेल’ र चर्चा सरुवामा नै हुने गरेको छ । यति बेला सबैभन्दा धेरै राजनीति हुने सङ्गठन मध्येको एक नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक(डिआइजी)को सरुवा चर्चाले मिडिया तथा सामाजिक सञ्जालका भित्ताहरू मात्रै भरिएका छैनन् कि प्रदेश, हेड क्वाटर र गृह मन्त्रालयको माहौल गरमागरम बनेको देखिन्छ । सरुवाका लागि तयार सूचीमाथि औपचारिक र अनौपचारिक छलफलले खुबै तीव्रता पाइरहेको छ । अनेकतिरबाट तयार पारिएका सूचीमा समावेश नामहरू घट्ने थपिने क्रम जारी छ । यसैबिच कैयन पटक सूची फेरबदल भइसकेको छ । र, ‘हिडन इन्ट्रेष्ट’ मा चल्ने र चलाउन खोज्ने प्रहरीलाई उस्तै परे जुनसुकै बेला नभए निकट भविष्यमा हुने चुनावलाईसमेत मध्यनजर गरेर खटनपटनको तयारी भइरहेको गृह स्रोतको भनाई छ । यस सन्दर्भमा जहिल्यै सरुवामा हुनै दौडधुप र यति वेलाको खिचातानीबारे नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक तथा अपराध अनुसन्धानविद् हेमन्त मल्ल ठकुरीसँग प्रशासन सिंहदरबार विशेष ब्युरोले गरेको कुराकानी ।

यति बेला गृह प्रशासन तथा प्रहरी सङ्गठनभित्र डिआइजी सरुवाको खुबै चर्चा छ, नियमित प्रक्रिया यति धेरै चर्चित किन बनाइएको होला रु हरेक पटक डिआइजीको सरुवामा किन यति धेरै चासो हुन्छ ?
पहिलो कुरा त भएका जति सबै डिआइजीले कहीँ न कहीँ जाने ठाउँ हेरिरहेका हुन्छन् । सबैले त्यो रोजाईकै अवसर नपाउने भएपछि तँछाडमछाड हुन्छ । दोस्रो कुरा विभागको आफ्नो स्वार्थ हुन्छ भने मन्त्रालय र राजनीतिज्ञहरूको आफ्नो स्वार्थ हुन्छ । यी तीन वटा कारणले गर्दा जहिले पनि डिआइजी सरुवामा विवाद आउने भइरहन्छ ।

नेता र मन्त्रालय धाउने डिआइजीका कारण सङ्गठनभित्र थप राजनीतिकरण हुँदै गएको हो, यसमा डिआइजीहरुनै चुक्ने गरेका हुन् कि ?
हो, उनीहरू चुक्ने गरेका छन् । जस्तो सरुवालाई पनि प्राथमिकीकरण गरिएको छ । जस्तो सबैको ध्यान बागमतीमा जान्छ किन रु सुदूर पश्चिममा कसैलाई पठाई दियो भने उसले आफूलाई सजाए दिएको महसुस गर्छ । सबैको स्वार्थ बागमती, विराटनगरलगायत आकर्षक ठाउँहरूमा नै किन त रु यसैबाट पनि अनुमान गर्न सकिन्छ । हेड क्वाटरको निर्देशनालयमा मान्छे बस्न रुचाउँदैनन् । अवसरहरू नपाएपछि यहाँ बस्नेहरू नै हेड क्वाटरको सबैभन्दा ठुलो दुस्मन हुन्छन् ।

सरुवामा सङ्गठनले एउटा सूची बनाउँछ, गृह मन्त्रालयले अर्को बनाउँछ, राजनीतिक तवरबाट अर्को आउँछ र अन्य शक्तिहरूको इन्ट्रेष्टले पनि काम गरेकै देखिन्छ, खासमा सरुवा सूची बनाउने कसले हो ?
डिआइजीहरूको क्षमता चिन्ने हेड क्वाटरले हो । गृहले त डिआइजी चिन्दैन । कसले कसरी काम गरिरहेको छ र को कसरी ग्रुमिङ हुँदै आएको छ र कहाँ कसलाई पठाउँदा ठिक हुन्छ भन्ने कुरा सङ्गठनलाई मात्र थाहा हुने भएकोले सङ्गठनले खटन पठन गर्नुपर्छ । गृह मन्त्रालयको काम भनेको त यदि सङ्गठनले गरेको खटनपटनमा तलमाथि भयो, अन्याय भएको रहेछ भने त्यो ठाउँमा क्षमताअनुसारको अवसर देऊ है भनेर हेर्ने मात्र हो ।

जस्तो तपाईँलाई म तत्कालीन आइजी रवीन्द्र प्रताप शाहको उदाहरण दिन्छु, त्यति बेला तराईका निश्चित जिल्लाहरू आपराधिक हिसाबले चर्चित थिए । अनि शाहले ठाउँअनुसार यो ठाउँका लागि यो फिट हुन्छ भनेर सोही अनुसार हेड क्वाटरले आफ्नो हिसाबले खटनपटन गरेपछि तराईका सीमा क्षेत्रका अपराधहरू धेरै हदसम्म नियन्त्रण भएको थियो । त्यसले गर्दा सङ्गठन भित्रको कुरा सङ्गठनलाई नै थाहा हुने भएकोले बदमासी गरेको छ, भेदभाव र स्वार्थले काम गरेको अवस्थामा हस्तक्षेप गरेर सही बाटोमा लैजाऊ भन्ने काम मन्त्रालयको बाँकी सङ्गठन आफैलाई गर्न दिनुपर्छ ।

अहिले जे जसरी भइरहेको छ यसले समग्र प्रणालीमा कहाँ कसरी कस्तो असर पार्छ ?
पहिलो कुरा, यदि खिचातानी गरेर राजनीतिक स्वार्थमा खटनपटन भयो भने हेड क्वाटर भन्दा पनि त्यो ठाउँको जो ठुलो नेता छ उसको स्वार्थमा काम गर्छ । त्यसले गर्दा त्यहाँ हुने बदमासी र संलग्न उसका मान्छेहरूलाई संरक्षण गर्नुपर्ने अवस्था आउन सक्छ । पुलिसिङमा कमजोरी हुन्छ ।

र दोस्रो कुरा गृहले कसको क्षमता कति भनेर नचिन्ने भएकोले आफ्नो हिसाबले खटनपटन गर्दा जुन उद्देश्यले जो मान्छे खटाएको हो त्यसले त्यो उद्देश्य पुरा गर्न सक्दैन । किनकि डिआइजी भएर जानलाई धेरै किसिमका क्षमता हेरिन्छ । आफूखुसी पठाउन थालियो भने त्यसले ओभरअल पुलिसिङमा असर गर्छ ।

अहिले जुन किसिमको खिचातानी, दौडधुप र सूचीहरू थपघट गर्ने कामहरू भइरहेको छ, यो अवस्थाको निकास र अन्त्य के हो ?
अवसरकै कुरा गर्ने हो भने कसैले दोहोर्‍याएर पाई रहने अनि कोहीले नपाउने अवस्था हुनुहुँदैन । तर हरेक प्रदेशमा जानका लागि अलग अलग क्षमता र स्वभावको मान्छे चाहिन्छ र त्यो मान्छे विभागले मात्रै चिनेको हुन्छ । यदि विभागको हातभन्दा बाहिरबाट सरुवा लिएर गयो भने डिआइजीले विभागीय प्रमुखलाई किन टेर्ने रु उसले आइजिपीलाई किन टेर्छ रु यसरी आफूmखुसी गएका व्यक्तिहरूको विभागसँग टसल भएको पनि देखिन्छ । ती मान्छेहरू विभागीय कमान्डबाट बाहिर फुत्किन खोज्छन् । आज एउटा सूचीमा एउटाको नाम भोलिको सूचीमा अर्कोको नाम आउने कुरा भई रहेका छन् यसले राम्रो गर्दैन ।

Tags :
प्रतिक्रिया दिनुहोस