फर्क युवा अभियान थालेको अजिरकोट गाउँपालिका रैथाने कृषि बालीको संरक्षण गर्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

फर्क युवा अभियान थालेको अजिरकोट गाउँपालिका रैथाने कृषि बालीको संरक्षण गर्दै


१२ जेष्ठ २०७८, बुधबार


गोरखा । युवाहरू रोजगारीका लागि धमाधम विदेशीन थालेपछि हिजोआज धेरै गाउँघर सुनसान देखिन्छन् । खाडी मुलुकमा गई भेडा बाख्रा चराउँदा पनि मनग्ये आम्दानी पाइने भएपछि पछिल्लो समयमा गाउँमा बेरोजगारीले बेकम्मा बनेका युवाहरू खाडी मुलुकमा गई काम गरिरहेका छन् ।

धेरै युवाहरू गाउँबाट बाहिरिन थाल्नु र कतिपय उतै पलायन हुनु अवश्य पनि हाम्रा लागि राम्रो पक्ष होइन । युवा पलायनको बढ्दो अवस्थालाई रोक्न र सकेसम्म गाउँमै रोजगारी सृजना गर्न सकियोस् भनी गोरखाको अजिरकोट गाउँपालिकाले थालेको फर्क युवा अभियान प्रशंसनीय छ ।

खाडीबाट फर्केका युवाहरू र यही स्वदेशमै बसेर केही उद्यम गर्न चाहने युवालाई लक्षित गरी गाउँपालिकाले कृषिजन्य व्यवसाय र साना उद्योग सञ्चालन गर्नका लागि यस कार्यक्रम अन्तर्गत बिउँपूजी र अनुदान दिने गरेको छ ।
कुनै पनि कृषिजन्य व्यवसाय गर्न चाहने यूवाले गाउँपालिकामा पेश गरेको व्यवसायसम्बन्धी प्रस्ताव स्वीकृत भएमा पालिकाले ५ लाखसम्म लगानी गर्ने गरी योजना ल्याइएको गाउँपालिका अध्यक्ष फनिन्द्रप्रसाद धितालले प्रशासनलाई बताए ।

खासगरी युवाहरूलाई गोरखाका रैथाने बाली उत्पादन र संरक्षणमा लाग्न गाउँपालिकाले विशेष जोड दिइएको अध्यक्ष धितालले बताए ।

अध्यक्ष धिताल भन्छन्, -‘पहिले पहिले गाउँमा बाहिरबाट कुनै तरकारी आउँदैनथे, गाउँमै उत्पादित फलफूल, तरकारी, रैथाने चामलको भात खान पाइन्थ्यो, त्यो बेलाकोजस्तो आनन्द र मिठास अहिलेका खाद्यान्नमा पाउनै मुस्किल छ ।’
रैथाने खाद्यान्न बालीको संरक्षण गर्न र यहाँका रैथाने कृषि बालीको ब्राण्डिङ गर्नका लागिसमेत गाउँपालिकाले पहल थालेको छ ।

‘पहिले पहिले यहाँको हावापानीसँग मिल्ने बालीहरू लगाइन्थे, खाँदा पनि मिठो हुन्थ्यो, अहिले मानिसहरू आयातित हाइब्रिड खाद्य सामग्री खान थाले, रोगव्याधी पनि बढ्न थाले’ -गाउँपालिका अध्यक्ष धिताल भन्छन् ।

अध्यक्ष धितालका अनुसार, गाउँपालिकामा यहाँकै रैथाने बाली लगाउँदा समस्या थिएन, पछिल्लो समयमा बाहिरबाट आएका बाली लगाउन थालेपछि बालीमा विभिन्न समस्या देखा पर्न थाले ।

गाउँपालिकामा रैथाने धानहरू कालो झिनुवा, सेतो झिनुवा, ताकमारे, अनदीलगायतका विभिन्न रैथाने धानबालीहरु लगाइन्छन् । यहाँ पाइने रैथाने धानको चामलमा औषधीय गुण समेत हुने गरेको अध्यक्ष धितालको भनाई छ ।

‘यहाँको रैथाने मगमग बास्ना आउने कालो झिनवा र सेतो झिनुवा चामल, त्यस्तै ताकमारे चामल दूधसित खाँदा निकै पौष्टिक हुन्छ । भकारीमा अन्य धानसँग यो धान मिसाइदिए भने भकारी भरी बास्ना आउने गर्छ’ उनले भने ।

गाउँपालिकाले लोप हुन लागेका धानहरूको संरक्षणको लागि पहल थालेको छ । यसका लागि गाउँपालिकाले बिउँ बैङ्क सञ्चालन गर्ने तयारी गरेको छ । यहाँका स्थानीय बजारमा पनि रैथाने धान प्रवर्द्धन गर्न पहल गर्ने गाउँपालिको योजना छ ।

रैथाने बाली मात्रै हैन, गोरखा जिल्ला अलैँची खेती र कफी खेतीका लागि पनि प्रख्यात छ । यहाँका किसानले व्यावसायिक अलैँची र कफी खेतीबाट वार्षिक लाखौँ आम्दानी गर्ने गरेका छन् ।

अलैँची खेती गर्ने यहाँका एउटा परिवारले वार्षिक औसत करिब तीन लाखसम्म आम्दानी गर्ने गरेका अध्यक्ष धितालले प्रशासनलाई जानकारी दिए । पहिले पहिले अलैँची खेती निकै राम्रो भए पनि अहिले भने अलैँचीमा केही रोग लाग्ने समस्या देखिएको धितालले बताए । यहाँका किसानमा प्राविधिक नलेज नभएकाले पनि समस्या भएको छ ।

पहिले यहाँको अलैँची प्रतिकेजी दुई हजारमा विक्री हुने गरेको भए पनि अहिले प्रतिकेजी ५ सयमा रुपैयाँमै बिक्री हुने गरेको छ ।

स्याउला, गाई गोरुको मलमूत्र गाउँमा सहजरुपमा पाइने भएकाले यसबाट सजिलै कम्पोस्ट मल बनाउन सकिन्छ । गोरखाको अजिरकोट गाउँपालिका भौगोलिक रूपमा पनि विकट ठाउँ भएका कारणले यहाँ भारत र चीनबाट आयात गरेर रासायनिक मल र नयाँ हाइब्रिड तरकारी तथा खाद्यान्न बाली भित्र्याउन पनि निकै गाह्रो छ ।

पछिल्लो समयमा बजारका नयाँ हाइब्रिड बाली लगाउँदा बाली झनै बिग्रिएको, किरा लाग्ने समस्या आएको गाउँपालिका अध्यक्ष धिताल बताउँछन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयका अनुसार, रैथाने बाली भन्नाले बालीका त्यस्ता प्रजाति हुन्, जुन पञ्जीकरण वा व्यवसायीकरण नगरिएको भन्ने बुझिन्छ । सामान्यतया रैथाने प्रजातिहरू अन्य फसल प्रजातिजस्तै हुन् ।

मानव भोजन र पशु बस्तुको चारा तथा आहाराका साथै औषधिजन्य प्रयोजनका लागिसमेत प्रयोग गरिने रैथाने बाली सामाजिक तथा आर्थिक मूल्य बोकेका हुन्छन् । खाद्य तथा पोषण सुरक्षा र बाली विविधीकरणका लागि पनि रैथाने बाली महत्त्वपूर्ण मानिन्छन् ।

विभिन्न रोग र कीरा तथा प्रतिकूल मौसम, सुख्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि सहन सक्ने विशेषता बोकेका रैथाने बालीहरू बाली प्रजनन तथा सुधारका लागिसमेत महत्त्वपूर्ण मानिन्छन् ।

रैथाने बाली कुनै ठाउँ विशेषको स्थानीय हावापानीमा पाइन्छ । नेपालका प्रमुख रैथाने बालीमा छिर्केमिर्के सिमी, मिठे र तिते फापर, भागो, नेपाले भट्ट, सेतो भट्ट, मार्सी धान, पोखरेली जेठो बुढो, घैया धान, जोरायल बासमती, दर्माली, गुडुरा, गौरिया, फुला उठ्ने साना दाना भएको मकै रहेका छन् ।

उच्च तथा मध्यभेगीय जिल्लाहरू मुगु, कालिकोट, हुम्ला, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, डोटी, पर्वत, गोरखा, रामेछाप, काभ्रे तथा दोलखालगायतका जिल्लामा रैथाने बाली छन् । यी जिल्लामा मुख्य गरी कोदो, फापर, चिनो, कागुनु, उवा, जौ, लट्टेजस्ता रैथाने बाली पाइन्छन् ।

धान जातिका रैथाने बालीहरू देशको तराई भेगदेखि उच्च हिमाली क्षेत्रमा पाइने गरेको कृषि विकास मन्त्रालयको रैथाने बालीसम्बन्धी पुस्तकमा जनाइएको छ ।

नेपालमै पनि ५० प्रतिशतभन्दा बढी रैथाने जातका बाली नाश भइसकेको हुन सक्ने नेपाल कृषि अनुसन्धान परिषद्को आङ्कलन छ । पहिलो पटक नेपालमा सन् १९६० को दशकमा उन्नत जातको बीउ भित्रिएको हो, वर्णसंकर (हाइब्रिड) बीउ देखिन थालेको १९९० देखि मात्र हो । यी बीउहरू भित्रिएसँगै स्थानीय तथा रैथाने बीउहरू प्रतिस्थापन हुँदै गएको कृषि निर्देशनालय, कृषि ज्ञान केन्द्र गोरखाद्वारा रैथाने बालीसम्बन्धी प्रकाशित पुस्तक २०७७ मा उल्लेख गरिएको छ ।

रैथाने बालीका लागि गोरखाको माटो उर्वर मानिन्छ । रैथाने बाली उत्पादन गर्न तथा अन्य कृषि सम्बन्धी व्यवसाय गर्न चाहने, खाडी मुलुकमा नगई आफ्नै देशमा केही उद्यम गर्ने योजना बनाएका युवाले विउँपूजी र अनुदान पाउनका लागि भिजनसहित गाउँपालिकामा प्रस्ताव आवेदन दिन सक्छन् ।

प्रस्तावको अध्ययनपश्चात् गाउँपालिकाले अवस्था हेरेर ५ लाखसम्म लगानी गरिदिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवालीले प्रशासनलाई बताए ।

‘फर्क युवा अभियान हालै मात्रै सुरुवात गरिएको कार्यक्रम हो तर महामारीका कारण अहिले ओझेल परेको छ । यो गाउँपालिकाकै गौरवको आयोजना हो’ प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने ।

गत फागुनसम्म ५ जनाको आवेदन परेको भए पनि कार्यक्रम विश्वव्यापी कोरोना महामारीका कारणले अगाडी बढ्न नसकेको उनको भनाई छ ।

‘अर्ग्यानिक अजिरकोट’ भन्ने नारा दिएर गाउँपालिका अगाडी बढिरहेको छ । जसअन्तर्गत भारत र चीनबाट आउने रासायनिक मल प्रयोग नगरी गाउँमै उत्पादित अर्गानीक मल प्रयोगमा जोड दिइएको छ ।

‘लो भोल्यूम हाइ भ्यालु’ को सिद्धान्त अनुसार, गाउँपालिकामा थोरै भए पनि गुणस्तरीय र अर्ग्यानिक उत्पादनलाई अगाडी बढाउन यो कदम चालिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले प्रशासनलाई बताए ।

पालिकामा रासायनिक मलमा प्रतिबन्ध लगाएर जैविक मल र जैविक विषादी मात्रै प्रयोग गर्न दिइएको छ । गाउँपालिकाले जैविक विषादी बनाउने तालिम पनि दिने गरेको छ, जसलाई आइपिएम तालिम भनिन्छ ।

रैथाने उत्पादनहरू यहाँका काँक्रा, आलु, भटमास कोदो, धानहरू लोप हुने अवस्थामा रहेकाले यिनको संरक्षणका लागि कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।

यसअघि अलैँची उत्पादनका लागि पकेट क्षेत्र घोषणा भइसकेको गोरखामा कफी पनि उत्पादन हुने गरेको छ । कफी उत्पादनमासमेत निकै सम्भावना बोकेको यस पालिकालाई कृषि पर्यटनका हिसाबले पनि महत्त्वपूर्ण क्षेत्र मानिएको छ ।

यहाँको पर्यटन प्रवर्द्धन गर्न यहाँका रैथाने बाली र यसबाट बन्न सक्ने परिकारहरूलाई प्रवर्द्धन गर्ने गरी गाउँपालिका अगाडी बढी रहेको छ ।

यहाँको अलैचीखेती गर्ने किसानले एक सिजनमा करिब ४३ क्विन्टल अलैँची भारततिर सप्लाइ गर्ने गरेको प्रशासकीय अधिकृत ज्ञवालीले जानकारी दिए । गाउँपालिकाले यसै आर्थिक वर्षदेखि कृषिमा ब्राण्डिङ गर्ने योजना पनि ल्याएको छ ।

अन्तर्राष्ट्रिय बजारमासमेत यहाँको उत्पादनलाई ब्राण्डिङ गरेर लैजान सकिएमा यस क्षेत्रको कृषि तथा पर्यटनको विकासमा निकै ठुलो टेवा पुग्न सक्ने गाउँपालिकाका सूचना अधिकारी सुरेश दवाडीले प्रशासनलाई बताए ।

यी लगायत गाउँपालिकाले अन्य असल अभ्यासहरू पनि गरेको छ । गाउँपालिकामा कोही महिला गर्भवती भएमा गाउँपालिकाले नै माइतीको कोसेली उपहार दिने गरिएको छ ।

कुनै महिला गर्भवती भएको सुरुदेखि बच्चा नपाउन्जेलसम्म आवश्यक पर्ने सबै पौष्टिक खानेकुराको बनदोवस्त गाउँपालिकाले नै गरिदिन्छ ।

गाउँपालिकाले गर्भवतीलाई अण्डा दिने, घ्यू दिने, ज्वानो, ढाकाको कपडा लगायत दिने गरेको छ । यी खानेकुराहरू सुरुदेखि नै दिए पनि अन्तिममा बच्चा पाइसकेपछि पनि एउटा झोलामा राखेर खानेकुराहरू कोसेलीस्वरुप गर्भवतीलाई दिने गरेको छ ।

महिलाहरू र बच्चाको स्वास्थ्य स्वस्थ रहोस् भन्ने हेतुले गाउँपालिकाले माइतीको कोसेली कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष धितालकाअनुसार गर्भवतीलाई चरणबद्ध रूपमा गरी तीन क्यारेट अण्डा र ३ लिटर घ्यू तथा तेल दिने गरेको छ ।

स्थानीय तहले यस्तै स-साना असल अभ्यासहरू गर्दै गएमा साँच्चिकै गाउँपालिकाको रूप परिवर्तन गर्न र जनताको मुहारमा खुसी भर्न समय लाग्ने छैन ।

गाउँ गाउँमै सिंहदरबार नभए पनि गाउँ गाउँका मान्छेका मन मुटुमा बस्न सक्ने जोसिला फुर्तिला जनप्रतिनिधि भए पुग्छ । गाउँ सहर सबैतिरको विकास गर्न आ–आफ्ना क्षेत्रमा भएका जनप्रतिनीधिहरुले यस्तै असल अभ्यासहरू गरिदिए पुग्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस