विना जानकारी पत्रकार महासङ्घको भवनमा डोजर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विना जानकारी पत्रकार महासङ्घको भवनमा डोजर


१६ बैशाख २०७८, बिहिबार


अमरगढी । नेपाल पत्रकार महासङ्घ डडेल्धुराको नवनिर्मित भवनमा डिभिजन वन कार्यालय डडेल्धुराले डोजर प्रयोग गरेर क्षति पुर्याएको छ ।

महासंघलाई सूचनाविना नै अमरगढी नगरपालिकाको डोजर प्रयोग गरी प्रहरी बलसमेत प्रयोग गरेर भवनमा क्षति पुर्याइएको घटनाप्रति महासङ्घले एक विज्ञप्ति जारी गरी आपत्ति जनाएको छ ।

सुदूरपश्चिम प्रदेशस्तरीय सूचना केन्द्रसमेत रहेको उक्त भवनलाई भत्काउने प्रयासपछि महासङ्घका अध्यक्ष हिक्मतबहादुर सिंह र सचिव पुष्कर भण्डारीले विज्ञप्ति जारी गरेर विरोध गरेका छन् ।

महासङ्घले विभिन्न निकाय र सरोकारवालासँग समन्वय सहकार्य गरेर तीनतले पक्की भवन निर्माण गरिएको र जग्गाको भोगाधिकारसमेत महासङ्घसँग रहेका अवस्थामा प्रचलित कानून विपरीत भवन भत्काउने कार्य प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापसँगै अक्षम्य अपराध भएको ठहर गरेको छ । सो विषयमा स्थानीय प्रशासन र डिभिजन वन कार्यालय डडेल्धुरासँग संवादका लागि पहल गर्दासमेत सम्बन्धित निकायले बेवास्ता गरेको आरोप लगाइएको छ ।

डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले अञ्जानमा गल्ती भएको भनी जवाफ दिएका छन् । महासङ्घले जिल्लाका साधारण सदस्यबाट लेवी तोकेर निर्माण गरिएको सो भवनमा पुर्याइएको क्षतिका सन्दर्भमा छानबिन गरेर २४ घण्टाभित्रै दोषीमाथि कारवाही नगरिएमा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस