कोरोना महामारी यही रुपमा बढ्यो भने गाह्रो पर्नसक्छ: मन्त्री ज्ञवाली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना महामारी यही रुपमा बढ्यो भने गाह्रो पर्नसक्छ: मन्त्री ज्ञवाली


१२ बैशाख २०७८, आइतबार


काठमाडौँ । सरकारले कोरोनाको महामारी यही रुपमा बढ्दै गएमा धेरै गाह्रो अवस्था आउने निश्कर्ष निकालेको छ ।

शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा भएको छलफलबारे आज प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महाधिवेशन आयोजक समितिका सदस्यलाई जानकारी गराएका छन् । बैठकमा सहभागी एमाले नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको स्वास्थ्य संरचनाले महामारीको अहिलेसम्मको अवस्था धानेको तर समस्या बढ्दै गएमा गाह्रो पर्ने बताएका छन् । ‘हामीसँग जे अवस्था छ, अहिलेको स्थितिलाई त धान्छ । तर समस्या यही रुपमा अगाडि बढ्दै गयो भने, चाहिँ हामीलाई अझ गाह्रो पनि पर्न सक्छ’ उनले भने ।

सीसीएमसीको बैठकमा पछिल्लो समय नेपालमा कोरोनाको डबल म्युटेट र ट्रिपल म्युटेट भाइरस पनि देखिएको र ती भाइरस असाध्यै छिटो फैलिने र संक्रमित व्यक्तिलाई अक्सिजन सपोर्ट चाहिने विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बताए । ‘त्यसकारण एकातिर हिजोको बैठकबाट हामीले अक्सिजन प्लान्टहरुलाई पूर्णक्षमतामा विस्तार गर्ने, नयाँ सिलिण्डरहरु मगाउने, रेमडिसिभिर लगायत अरु लाइफ सेभिङ ड्रग्सहरु, मेडिसिनहरुलाई आयात गर्ने, खोपलाई विस्तार गर्ने कुराहरु त गरिरहेका छौं’ मन्त्री ज्ञावलीले भने ।

आज सीसीएमसीको निश्कर्षबारे प्रधानमन्त्रीले पार्टीको महाधिवेशन आयोजक समितिका सदस्यहरुलाई जानकारी गराएका मन्त्री ज्ञवालीले बताए । त्यस्तै कोरोना महामारीविरुद्धको अभियानमा परिचालित हुन पनि प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस