कोरोनाले खुलाएको चेत र प्राप्त गरेको शिक्षा « प्रशासन
prasaLogo
८ बैशाख २०७८, बुधबार

कोरोनाले खुलाएको चेत र प्राप्त गरेको शिक्षा


प्रकाशित मिति : 21 April, 2021 12:44 pm

”मानिस ठूलो दिलले हुन्छ । धनले हुँदैन ।” महाकवि लक्ष्मी प्रसाद देवकोटाले उहिले मुना मदन काव्यमा लेखेका हुन् । भोटमा धन कमाउन गएका मदनले धन कमाए । सुनको झोला बोकेर आउँदै गर्दा हैजा आयो । साथीहरूले छाडेर हिँडे । भोटका एक जना भोटेले उपचार गरे । उनलाई निको भयो । सञ्चो भए पछि, मदनले आफूसँग भएको एक झोला सुन दिएर आफूलाई निको पार्ने भोटका ती अद्वितीय पुरुषलाई गुन तिर्न खोज्दा । ती भोटवासीले भनेको कथन हो त्यो लक्ष्मी प्रसाद देवकोटाको काव्यमा लेखिएको कुरा । देवकोटा स्वयम् धनी थिएन तर महान् भए । आज पनि महान् छन् । स्व घोषित जान्ने र सबै विषयको आफै विज्ञ भन्नेहरूको प्रभुत्व रहेको अहिलेको अवस्थामा प्रसङ्ग महाकविबाटै सुरु गर्न मन लाग्यो ।

देवकोटाले भने जस्तै मानिस पढेर उपाधि प्राप्त गरेर मात्र ठूलो हुने पनि होइन छ । पदले ठूलो हुन्छ, त्यो पनि होइन । त्यस्ता मान्छे विवेकी हुन्छन् र दयालु हुन्छन् त्यो पनि होइन छ । यी कुरामा विश्वास हुन थालेको छ । फेरि जीवनमा सिकेका र सिकिने कुरामा औपचारिक शिक्षाको भन्दा अनौपचारिक अंश बढी देख्दछु । त्यस्तो सिकाइ व्यवहारिक र अर्थपूर्ण लाग्दछ । अहिलेको कोरोनाका सन्देश पनि त्यही हो जस्तो लाग्छ ।

चैत्रको ११ गते वाट मुलुकमा लकडाउन सुरु भयो । ठीक एक हप्ता पुगेको थियो । निकै भयाभय अवस्था थियो । आफ्न्तवाट फोन आयो । ‘बुवालाई अलि चापेको जस्तो लाग्यो । खान करिब छाड्नु भयो । यो वेला केही भई हाल्यो भने काठमाण्डौंमा साह्रै गाह्रो होला जस्तो लाग्यो । गाउँ नै जाने कि के गर्ने होला ?’ भनेर स्वीकारोक्तिको भावबाट प्रतिक्रिया मागेको अनुभूति भयो । फोन गर्ने मेरा साणुभाई प्रकाश थिए । बुवालाई करिब एक वर्ष पहिला असाध्य रोग देखिएको थियो ।

त्यही करिब एक वर्ष पहिला अलि जटिल अवस्थामा पुगिसकेको जानकारी भएपछि, म समेत भएर डाक्टरसँग लामै परामर्श लिइएको थियो । अरुठाउँमा उपचारको लागि लग्न नपर्ने । सामान्यतया तीन महिना मात्र वहाँको जीवन बाँकी रहेको अनुभव र प्रमाण सविस्तार जानकारी गराएका थिए ती अनुभवी र पाका डाक्टरले । बिमारीलाई पछिल्ला दिनहरूमा राम्रै भएको देखेर, डाक्टरहरूको भनाइ मिलेन, उनीहरू पनि फेल भए क्यारे जस्तो लागेको थियो । तथापि अवधि लम्बिए पनि अवस्था जटिल भयो । बिमारीलाई गाउँ नै लग्ने कुरा निधो भयो ।

त्यही दिन केही समय पछि लक्ष्मीले फोन गरिन ।’एम्बुलेन्समा तीन जना मात्र, साह्रै कर गरेमा चार जनासम्म जान पाइँदो रहेछ । हामी सबै परिवार गाउँमै जान पर्ने बाध्यता भयो । दुई पट्टि परिवार भएर पनि भएन । एउटा पास मिलाउन पाए हुने थियो । निजी गडी त देअाेर बाबुको थियो” भनिन् । उनको भनाइमा विश्वास थियो । मन्त्रालयको जागिरे । यस्तो दुःखको वेला साथीभाइलाई भनेर जाबो एउटा पास त मिलाई हाल्ला भन्ने उनको अड्कल अस्वाभाविक पनि थिएन । तत्कालै गृह मन्त्रालयका र अन्यत्रका चिनजानका साथीभाइलाई सम्पर्क गरेँ । एम्बुलेन्स बाहेकलाई पास गराउन नसकिने प्रतिक्रिया आयो । ‘सरी सकिएन’ भन्ने मात्र प्रतिक्रिया आयो । एक जना निकै उच्च पदस्थ साथीले गृह मन्त्रालयकै फोनबाट आफैले (कलव्याक) फोन गर्नु भयो । खुसी भएर फोनमा कुरा गर्न सुरु गरेँ । पहिलो वाक्य नै ‘सरी’ भन्ने आयो यसो गर्न पर्छ कि ? उसो गर्न पर्छ कि भन्ने विकल्पहरूका बारेमा पनि चर्चा भयो । ती कुनै विकल्प पनि कामयाबी थिएनन् । खाली वहाँको सदासयताप्रति आभार व्यक्त गर्न बाहेक केही थिएन ।

‘मर्ता क्या नै कर्ता’ यो उखान त्यसै बनेको होइन रहेछ, यस्तै परिवेशले ल्याएको रहेछ । लक्ष्मीका घरका सबै छ जना सदस्यहरू कोही एम्बुलेन्स र कोही बिना पासको निजी मोटरमा लमजुङ तिर लागे । बिमारीका सबै कागजातहरू निजी मोटरमा लिएर प्रस्थान गरे। केही समय पछि के कसो भयो होला भनेर फोन गरेको त । गाउँको घर नै पुगिसकेछन् । अघिपछि करिब एक दिन नै लाग्ने बाटो, करिब तीन घण्टामा नै पुगेछन् । प्रहरीले ठाउँ ठाउँमा रोक्यो रे ! उनीहरूले जस्ताको तस्तै विषयवस्तु जानकारी गराए छन् । सहजै सहानुभूति पूर्वक विना रोकतोक जान दिएछन् । ती प्रहरीहरूले नै सिकाए छन् ‘केस अलि सिरियस छ भन्नु होला, त्यसो भए पुलिसले दुख दिँदैन’ भन्दै सिकार पठाए छन् । ती तल्लो तहका प्रहरीप्रति सारै आभारी भएको प्रतिक्रिया पनि प्राप्त भयो । प्रत्यक्ष जनसम्पर्कमा रहेर काम गर्ने राष्ट्र सेवक प्रहरीमा त्यसरी विवेक प्रयोग भएको पाउँदा खुसी लाग्यो ।

गएको तेस्रो दिनमा बिमारीको स्वर्गवास भइहालेछ । हामीलाई जसरी पनि एक पटक लक्ष्मीको परिवारलाई भेट गर्न जान मन लाग्यो तर कसरी पास पाइला ? र भन्ने लाग्यो । बन्दाबन्दी (लकडाउन) भएकाले अति जरुरी काम पर्दा मात्र तत्काल काम गर्ने कार्यालय (शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय) जाने आउने गरिएको थियो । मन्त्रालय गएको बेला साथीहरू र मभन्दा माथिका पदाधिकारीहरूसँग पनि संवेदनशील भई त्यो पासको विषयमा कुराकानी भयो । ‘अब त्यसरी बोलाउन जान्छु भनेर पास दिँदैनन् । अझ अहिलेका सिडिओहरू । बरु यही मन्त्रालयको पहेँलो पास लिएर जाने । प्रहरीले कचकच गर्‍यो भने, हाम्रो यहीको फोनमा कुरा गर भन्ने’ जस्ता कुरा भए । यही जबरजस्त निचोड निस्कियो । अरू विकल्प कसैले दिएन । आधिकारिक पास नलिई जान मन लागेन । मन मानेन ।

लक्ष्मी सानै हुँदा आमा (सासू) बित्नु भएको थियो । २०५२ सालतिरको कुरा हो हामी कीर्तिपुरमा डेरा गरेर बस्थ्यौ । एउटा ठुलो कोठा थियो । भान्छा, सुत्ने, पाहुना आउँदा सुताउने सबैका लागि त्यही मात्र थियो । बर्दियाबाट अलि बिमारी आमा (सासू) लाई लिएर ससुरा आउनु भयो । उपचारको क्रममा विभिन्न परीक्षणहरू भई रहेको थियो । रक्त क्यान्सरको शङ्का गर्दै थिए डाक्टरहरू । रिपोर्ट पुरै आएको थिएन । वहाँको खानपिन सबै ठीकै थियो । कीर्तिपुरदेखि वीर अस्पताल सहजै बसमा आउने जाने भई रहेको थियो । एक दिन बिहान कोठामा सुते जस्तो गरेर पल्टिनु भयो । पानी खुवाउन मात्र पाएका थियौँ । यो संसारबाट बिदा लिनु भयो । त्यतिबेला लक्ष्मी र माया निकै सानो उमेरका थिए । त्यसपछि लक्ष्मी र माया दुई बहिनीहरूका लागि दिदीले आमाको भूमिका निर्वाह गर्न पर्ने अवस्था भयो । विवाहदेखि सबै पक्षमा हाम्रो निकट संलग्नता हुने नै भयो । हाम्रै प्रयासमा मेरा अनन्य मित्र डा. हरिका भतिजा प्रकाशसँग उनको विवाह भएको थियो । यी र यस्ता विगत सम्झँदै श्रीमती दिनदिनै पिरलिन लागिन । उनको गहिरो दुखेसो र चिन्ता यस्तो अप्ठ्यारो बेलामा पनि त्यो बहिनीलाई बोलाउन नपाइने भयो भन्ने नै थियो ।

परिस्थित र परिवेश हामी भन्दा जटिल हुन्छ भन्दै सम्झाउने प्रयास त गरेँ । तर पनि उपायको खोजी गर्न छाडेको थिइन । करिब नहुने टुङ्गोमा पुगी सकेको थिएँ । ‘दीपक ज्वाइँलाई भन्नुस् न सैनिकहरूले मिलाउन सक्छन्” भनेकी थिइन उनले। दीपक, मेरा कान्छा साणु (मायाका श्रीमान्)को परिवार सल्लाघारीको सैनिक क्वाटरमा बस्थे । पहिला बिमारीलाई पठाउँदा भएका कुराको आधारमा त्याहाँबाट हुने सम्भावना न्यून थियो । पढाउने शिक्षक पनि भएकाले तै पनि एक पटक कुरा गरौंन त भनी कुरा गरेँ । दीपक र मायाले भेट गर्न जान पाउने आस मारेर उता लमजुङ तिर फोन गरिसकेका रहेछन् । परिस्थिति यस्तै भएकाले सकिएन भन्ने तर्फ सबैले चित्त बुझाउन पर्छ होला भन्ने खालको आशय पाएँ ।

‘तिम्रो विद्यार्थीका कोही अभिभावक छैनन् ?’ भनेर प्रश्न गरेँ । उनले खै छैनन् भने । ‘दाइले नसकेको मबाट के होला र !’ भनेर मै तर्फ सोझ्याए । त्यसो भए कोही साथीभाइ छन् कि ? यो काम ठुला मानिसबाट नहुने भयो कहिले काहीँ सानो वाट पनि हुन्छ भनी मैले भनेँ । उनले भने ‘साथी त छैनन् । एउटा साथीले भाइ छ जिल्ला प्रशासन कार्यालयमा, त्यो त खरिदार हो क्यारे के होला र !’ भनेर सुनाए । मैले एक पटक कुरा गर्न अनुरोध गरेँ । उनले कुरा गरेछन् । साथीका भाइले एउटा निवेदन दिन भनेछन् । को को जाने, कहिले जाने, कुन गाडीमा जाने आदि सबै उलेख गरेर उनले निवेदन दिए । पास त सहजै पो मिल्यो भन्ने खबर गरे ।

कोरोनाले ठूलो र सानो भनेन । धनी देश र गरिब देश छुट्ट्याएन । बरु गरिब देशलाई कम सतायो । नेपालका एक मात्र व्यक्ति जो नेपाल सरकारको सचिव, मुख्य सचिव र संसद्को महासचिव हुनु भयो, डा. ईश्वर प्रसाद उपाध्याय । वहाँले जागिरे जीवनका अविस्मरणीय दुई वटा घटना भनी मलाई सुनाउनु भएका विषय सम्झनामा आयो । उहाँले सुनाउनु भएको थियो, शिक्षा मन्त्रालयमा हुँदा एक जना खड्दार साहेबले र संसद्को महासचिव हुँदा एक जना पलम्बरले लगाएको गुनको विषय । निकै सकसको वेला निःस्वार्थ भावले ती कर्मयोगीले सहयोग गरेकोमा वहाँले भन्नु हुन्थ्यो ठूला मानिस त ती पो हुन । ती कर्मयोगीले त्यतिवेला गरेको कामको घटना कथा जस्तो थियो । त्यही कुरा सम्झेर मैले भाइ दीपकलाई सानो मान्छेको खोजीको लागि आग्रह गरेको थिएँ । वहाँको अनुभव हामीलाई पनि काम लाग्यो ।

म तीस वर्ष जति पहिला बर्दियाको एउटा विद्यालयमा पढाउँथेँ । विद्यालय नजिकै पुनर्वास कम्पनीको कार्यालय थियो । त्यो कार्यालयका हाकिम र ड्राइभर दुवैका बच्चा त्यही विद्यालयमा पढ्थे । म गणित र विज्ञानको शिक्षक भएकाले वहाँहरू दुवैसँग राम्रै परिचय थियो । सरकारी कार्यालय र त्यसमा पनि मोटर भएको त्यो मात्र कार्यालय थियो त्यहाँ । कहिले काहीँ बाटामा म हिँडेको देखेमा त्यो गाडी रोकेर ती दुवै जनाले मलाई अभिवादन गरेर हिँड्ने गर्थे । ड्राइभर मात्र भएमा मलाई मोटरमै राखेर गन्तव्यमा पुर्‍याइ दिन्छु भनेर आग्रह गर्थे । उनको आत्मीयता र आदर अर्कै थियो । ती हाकिमको अर्कै थियो । हाकिमले धेरै जसो ‘सर’ भनेर सम्बोधन गर्थे कहिले काहीँ ‘मस्टरसाव’ पनि भन्थे । ती चालकले एक दिन ‘हाकिम साहेब घर गएको बेला हजुरलाई मोटर सिक्ने इच्छा भएको भए सिकाइ दिन्छु पनि भनेको सम्झना छ । उति वेला ती कुराले मलाई खासै प्रभाव पारेन । अहिले म सम्झिन्छु । ती तल्लो तहका कर्मचारीले बच्चाको शिक्षकलाई गर्ने आदर र हाकिममा कत्रो फरक रहेछ । को बढी मानवीय ।

आफ्नै प्रसङ्गमा लागौँ – त्यसरी विश्वास नभएको तरिकाबाट पास पाएको भोलिपल्ट नै चालक समेत चार जना लमजुङ तर्फ लागियो । बाटोमा उदेक लाग्दो सन्नाटा थियो । केही किलोमिटरको दूरीमा मात्र फाट्टफुट्ट यातायातका साधन भेटिन्थे । ती सबै जसो खाद्यान्न ढुवानी गर्ने थिए । बाटो पुरै खाली भएकाले सोचे भन्दा चाँडो सहजै पुग्न लागेका थियौँ । पुग्न थोरै दूरीमात्र थियो । ‘कोरनाका कारणले बाटो बन्द गरिएको छ’ भनेर लेखेर बाटामा वडा कार्यालयको तर्फबाट मुढा तेर्स्याएको रहेछ । तथापि तुरुन्तै सम्बन्धित घरतर्फबाट फोन आयो । ‘केही बेर रोकिनु, हिँडेर आउने काम नगर्नु’ भन्ने जानकारी दिइयो । त्यसको केही मिनेट मै त्यस वडाका वडाध्यक्ष नै आफैँ आउनु भयो र आफैले मुढा पञ्छाउन लाग्नु भयो । हामीले त्यसले पारेको अप्ठ्यारोबाट असजिलो अनुभूति व्यक्त गरियो । ‘तपाइहरूँ वहाँ देखि यस्तो प्रतिकुल वेलामा पनि यहाँ आउने कष्ट गर्नु भयो । हामीले स्वागत गर्न पाएकोमा खुसी छौँ । करोनाको भय भन्दा स्वगत हाम्रा निम्ति रोजाइ हुन्छ’ भनेर गाउँ समाजको आत्मीयता देखाउनु भयो । हाम्रो गाउँले नेपाली समाजको अतिथिलाई गर्ने मान र सम्मान नै हाम्रो अद्वितीय विशेषता हो । हाम्रो मौलिकता र विशेषता नै यही हो भन्दै दङ्ग परियो ।

बिहान करिब दश बजे तिर नै त्यहाँ पुगेका थियौँ । करिब दिनभर जस्तो नै त्यहाँ बस्यौँ । मित्र डा. हरिले आफ्नो बाल्यकालका स्मरणीय घटनाहरू चाख पूर्ण रूपमा बताउँदै एक एक गरी खेत र बरी देखाउन डुलाउनु भयो । एउटा ठाउँ देखाउँदै भन्नु भयो । ‘म धेरै सानो हुँदा बिमारी परेछु । मर्‍यो भनेर यो ठाउँमा गाड्न खाल्टो खनेका रे । त्यहीवेला एक जनाले यो बच्चाले त सास फेरे जस्तो छ भनेछन् रे । अनि चिसो लागेर यस्तो भएको हुन सक्छ भनी बेस्सरी बगोमा सेकेछन रे । अनि त म बौरिए रे !’ भनेर भन्दा अचम्मित हुँदै सुनिरहेँ । पुरानो हितैषी मित्र भएकाले पारिवारिक कुरा देखि व्यक्तिगत सबै कुराहरू भए ।

अर्को एउटा चाखलाग्दो विषय पनि सुनाउनु भयो । एउटा आफ्नो जग्गासँगै जोडिएको खाली जग्गा देखाउँदै उहाँ सानो हुँदा जग्गा नापी गर्न अमिन आएको रे ! ती अमिनले त्यो सार्वजनिक जग्गा सामान्य सर्तमा वहाँहरूको नाममा नापी दिने प्रस्ताव राखेछन् । वहाँ त्यतीवेला कक्षा १० विद्यार्थी हुनुहुन्थ्यो रे । वहाँले सार्वजनिक जग्गा सबैको हुन्छ त्यसमा कल्याण छ । निजीमा स्वार्थ हुन्छ । त्यसैले यो काम गर्न हुँदैन भनेको र त्यतिवेला घरपरिवार पनि वहाँको भनाइमा सहमत भएको कुरा सुनाउनु भयो । आफै दङ्ग पर्दै सुनाएको त्यो प्रसङ्ग पनि स्मरणीय नै भयो । अहिले त्यही जग्गा भएर मोटर बाटो गएको र निकै महँगो भएको भए तापनि त्यो सार्वजनिक जग्गा हेर्दैमा आफूलाई आनन्द आउने वहाँको अभिव्यक्तिलाई दङ्ग परेर सुनि रहेँ । अहिलेका बालुवाटार देखीका सार्वजनिक जग्गा दर्ताका होडबाजीका घटना समेत स्मरणमा आए । जन्मभूमिका विभिन्न घटनाहरू भनिरहँदा त्यहाँको माटोसँग वहाँको मानवीय संवेदना जोडिएको थियो । एउटा बडेमानको सालको रुख जस्तो चिलाउनेको रुख आफ्नो जग्गामा देखाउँदै त्यसलाई धेरैले राम्रै पैसा दिएर काट्न माग्दा नदिएको । ध्रोद्रिएर रुख सुकेर गए पनि त्यो रुख काट्न चाहिँ दिन मन नभएको अभिव्यक्ति पनि चाख पूर्ण थियो । वहाँले ती विषयवस्तुको बारेमा चर्चा गरिरहँदा आफूलाई पनि ती दिनका गाई गोठालो बनेका, मेला गएका, घाँस काटेका, रोपाइ गरेका दिनहरू सम्झिरहेको हुन्थेँ ।

हाल त्रिभुवन विश्वविद्यालय भौतिक शास्त्र केन्द्रीय शिक्षण विभागमा प्राध्यापन गर्ने हरि जी र म स्नातक र स्नातकोत्तर पढ्ने वेलाका साथी थियौँ । वहाँ फिजिक्स पढ्नु हुन्थ्यो, म गणित । वहाँको गणित विषयमा अदभूत क्षमता थियो । हामीले बुझिएन भने वहाँलाई सोध्ने गर्थ्यौँ । हामी गणित पढ्ने उहाँ भौतिकशास्त्र । तर नबुझेमा वहाँलाई सोध्ने । यस्तो अपवादमा मात्र हुन्छ । जस्तो असजिलो समस्या पनि सहजै समाधान गरिदिनु हुन्थ्यो । वहाँको सरल व्यक्तित्व उतिवेला देखि नै सवैका लागि लोभ लाग्दो थियो । वहाँको इमानदार, सहज र सरल व्यक्तित्वबाट यदाकदा अरूले अनावश्यक र अस्वाभाविक फाइदा लिने गरेको अवस्थाले पनि हामीलाई पिरोल्थ्यो ।

वहाँ अमेरिका विद्यावारिधि गर्न गएपछि अमेरिकनले उतै राख्छन् होला त्यस्तो मानिस पाएपछि गोरेले के छाड्लान् र भन्ने लागेको थियो । तर वहाँ आफ्नो पहिचान नहुने मुलुकमा बस्न हुँदैन भनेर । कसैको कुरा नसुनेर फर्कनु भएको कुरा पहिला नै जानकारी पाएको थिएँ। त्यो गाउँको, त्यो ठाउँको सामान्य सामुदायिक विद्यालयमा पढेको मानिसले त्यत्रो प्रगति गर्न सक्छ भने कोरोनाको कहरले विदेशबाट फर्कने जोसुकै पनि सहरको बोर्डिङमा बच्चा पढाउन पाइन भनेर पिरलिन पर्दैन भन्ने एउटा ज्वलन्त उदाहरण हुनुहुन्छ हरि शर भन्ने कुरा पनि त्यो तत्कालीन सङ्कटको सकसले सम्झना गरायो ।

हरि शर आफैँमा एउटा खुला पुस्तक हुनुहुन्छ । अहिले पनि मन्त्रालयमा विभिन्न कामले वहाँका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरू आउँछन् । उनीहरूसँग मैले कहिले नचिने जस्तो गरेर । कहिले मेरो साथी भनेर कुरा गर्छु । ‘हाम्रो त जुन विषयको जे नजाने पनि सोध्ने शर नै हो । बाटामा जहाँ, जहिले र जे सोधे पनि बताइदिनु हुन्छ । वहाँलाई किताब पनि हेर्न पर्दैन’ भन्छन् । वहाँको बारेमा चर्चा गर्दा लक्ष्मी प्रसाद देवकोटा जस्ता महान् पुरुषका बारेमा चर्चा जस्तो आनन्द आउँछ । उस्तै अनुभव हुन्छ ।

धेरै समय पछि त्यसरी भेट भएर गफ गर्न पाएकोमा असाध्य नै खुसी लाग्यो । हामीले वहाँको खेत, बारी, खर बारी बाल्यकालका दौँतरीसँगको भेटघाटमै समय बिताए छौँ ।

वहाँको विवाह सानै उमेरमा म र वहाँ परिचय हुन भन्दा पहिले नै भई सकेको थियो । विश्वविद्यालय तहको अध्ययन गर्दासम्म उहाँको परिवारसँग म निकै निकट थिएँ । त्यस अवसरमा वहाँकी श्रीमती प्रेमकला म्याडमले पनि साह्रै आत्मीयता देखाउनु भयो । बाटासम्म पुर्‍याउन आउनु भयो । वहाँको माइततिरको घरपरिवार विशेष गरी बुवासँग पनि मेरो राम्रो परिचय थियो । वहाँ पहिला शिक्षक हुनुहुन्थ्यो । पछि सामाजिक कार्यकर्ताको रूपमा निकै सक्रिय हुनु भएकाले पनि सम्मानको दृष्टिले हेरिन्थ्यो । हामी डेरा गरेर वास्ता यदाकदा घरवाछ कुराउनी र सेलरोटी लिएर आउनु हुन्थ्यो । हामी औधिनै खुसी भएर गफिएर खान्थ्यौँ । उहाँको गैँडाकोटको घरमा पनि म पुगेको थिएँ । तर त्यो भेटघाटमा त्यताको प्रसङ्ग नै निस्किएन । वहाँ त दुर्घटनामा परेर अस्पतालमा भएको वेला रहेछ । पछि मात्र जानकारी भयो । पछुताउन भन्दा अरू केही भएन ।

काेरोनाको कारणले लकडाउनमा रहेको वेला यो एउटा स्मरणीय घटना बन्यो । कोरोना महामारीले आत्मीयता ठुलो हो, पद र धन ठुलो होइन भन्ने कुरा फेरि एक पटक अनुभव गर्ने, अनुभूतिमा लिने र प्रतिविम्बन गर्ने परिवेश बनायो । धरै कुरा पुनर्ताजगी भए । नयाँ सिकाइ भयो । त्यो सिकाइ पुस्तकबाट हुँदैन । किताब पढेर पनि हुँदैन । अहिले लकडाउनमा परेका विद्यार्थीका लागि पाठ्यक्रममा नै भएका कतिपय विषयवस्तु यस्ता अनुभवबाट सिकिने छन् । परिवारबाट सिक्ने छन् । आफन्तजनबाट सिकिने छन् । बच्चाको पढाइ बिग्रियो भनेर चिन्ता नगरौँ । उदाहरण बनेजस्तो लाग्यो । गाउँघरका रमाइला अनुभवहरू र पुराना ज्ञान सिक्ने यो राम्रो अवसर हो भन्ने कुरालाई मनन गर्दा बच्चाको जीवनलाई नयाँ आयाम दिन महत्त्वपूर्ण हुन सक्छ । मैले यही शिक्षा पाएँ । यही चेत खुल्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस