२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तपाईँ पत्रकार की नेता ?

अ+ अ-

नेपाल पत्रकार महासङ्घको चुनावी सरगर्मी बढेको छ। यही चैत २५ गते हुने महासङ्घको चुनावका लागि पत्रकार सङ्गठनहरू प्यानल बनाएर निर्वाचनमा होमिएका छन्। केन्द्रदेखि प्रदेश र जिल्ला शाखासम्म अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदका लागि निर्वाचनको तयारी तीव्र पारिएको छ। प्रचारप्रसार यसरी गरिँदै छ कि यो कुनै संसदीय चुनाव हो। मैले पनि यस महासङ्घको चुनावको उम्मेदवार र मतदाताको सुची हेर्ने मौका पाए, उक्त सूची हेर्दा मैले बुझेका पत्रकार र पत्रकारिता तथा हाम्रो देशको पत्रकार र पत्रकारितामा धेरै भिन्नता महसुस गरेको छु।

मलाई लागेको थियो पत्रकारको चुनाव भनेको पत्रकारकै लागि हो। अझ सक्रिय पत्रकारको लागि पत्रकारको हक र हितको लागि नेतृत्व चुनिने भन्ने लाग्थ्यो। तर पछिल्लो समयमा जुन किसिमले राज्यको चौथो अङ्गको रूपमा रहेका पत्रकारहरूले राजनीतिकलाई पत्रकारिता भित्र प्रवेश गराए त्यसले पत्रकार महासङ्घ विशुद्ध व्यावसायिक सङ्गठन हो कि राजनीतिक सङ्गठन ? भन्ने प्रश्न चिन्ह खडा गरेको छ।

के हो पत्रकारिता र को हुन पत्रकार ?
म नत पत्रकारिताको विद्यार्थी हुँ नत पत्रकार नै, तर कहिलेकाहीँ समसामयिक विषयमा कलम चलाउने र नेपाली मिडियामा प्रकाशन गर्ने गर्दछु। मलाई पत्रकार भन्नालाई म पत्रकार महासङ्घको सदस्य पनि होइन र भोलि हुने चुनावको मतदाता पनि होइन। तरपनि यस पेशा प्रति थोरबहुत अध्ययन गर्ने प्रयास भने गर्दछु।

पत्रकारिता भनेको घटनाहरूको अनुसन्धान, विवरणलाई विभिन्न शैलीबाट गरिने सङ्कलन, लेखन, सम्पादन, सरलीकरण र प्रस्तुतीकरण हो। जसमा कहाँ, के, कहिले, कसरी, किन, कसको लागि र परिणाम जस्ता कुराहरूलाई समेटेर घटना विवरण तयार पार्ने गरिन्छ। यो जानकारीमूलक, शिक्षामूलक, चेतनामूलक, निश्चित समूहप्रति लक्षित, समयसापेक्ष र समाचार संरचना तथा अङ्गले भरिपूर्ण एवं अर्थपूर्ण हुन्छ। यसका लागि विशेष सिप क्षमता र दक्षता भएका व्यक्तिहरूको जरुरत पर्दछ र तिनै व्यक्तिहरू पत्रकार हुन्।

जोसेफ शुम्पेटरको भनाइअनुसार पत्रकारिता मात्र एक यस्तो पेसा हो जसलाई शुद्धरुपमा बुद्धिजीवी भनेर चिन्न सकिन्छ। राजनीतिक चेत भएका तर राजनीति भन्दा टाढा, प्रशासनिक ज्ञान भएका तर प्रशासनिक संयन्त्र भन्दा बाहिर, ‘आवाजविहीनहरूको आवाज’ राजनीति र प्रशासनिक संयन्त्र सम्म पुर्‍याउने सशक्त माध्यमको रूपमा रहने भएकोले पत्रकारलाई बुद्धिजीवीको कोटिमा राखिएको हो । अझ भन्नुपर्दा पत्रकार र तिनीहरूको सङ्गठन नागरिक समाजको रूपमा स्थापित सङ्गठन हुन्। तर यो चुनावी सरगर्मी हेर्दा मलाई प्रश्न गर्न मन लागेको छ कि तपाई पत्रकार हो कि कुनै राजनीतिक दलको नेता ?

नेपाली पुराना पत्रकार चक्रपाणि नेपालको भनाइलाई सापटी लिने हो भने यस पेसामा रहेका पत्रकारहरू सबै नेतामुखी भएका छन्, नेताका पछाडि लागेका छन्। जब पत्रकारको चुनाव आउँछ। अनि कहिल्यै नसुनिएको नाम कहिल्यै लेख नपढिएका नामहरू आफू नै वरिष्ठ पत्रकार भएको भन्दै नेतृत्वको लागि हानथाप गर्छन्। वास्तविक लेखक र पत्रकार त सधैँ पछाडिका पछाडि।

पत्रकारिता पेशा हो व्यवसाय होइन । यो मर्यादा, जबाफदेहिता र उत्तरदायित्वसहितको पेशा हो ।कानुन व्यवसायीले गर्ने वकालत जस्तो कानुनी व्यवसाय होइन ।उद्योगी व्यवसायीले गरे जस्तो उद्योग व्यवसाय पनि होइन ।पत्रकारिता त उच्च नैतिकता सहितको आस्था, विश्वास र प्रतिबद्धता हो । व्यवसाय गर्नेले राजनीति गर्न पाउँछ र छुट छ तर पेसागत रूपमा कुनै काम गरिन्छ भने त्यहाँ राजनीति घुसाउनु हुँदैन।

यहाँ त पत्रकारहरू सङ्गठन खोलेर कुनै राजनैतिक दलको भातृ सङ्गठनको रूपमा आफूलाई चिनाउँदै आफू फलानो पार्टीको र अर्को पत्रकार ढिस्कानो पार्टीको भनी चिनाई रहेका छन्। यस चुनावमा पनि नेता गुहार्दै छन्। कुनै राजनैतिक दलको नजिक भएका पत्रकारहरू उम्मेदवार भएका छन् भने विशुद्ध कलम चलाउने पत्रकार मतदाता।

पत्रकारिता “वाच डग” हो ।शासकका कर्तुत विरुद्ध औँला उठाउन हिम्मत गर्ने पत्रकार नै हुन् । तर जब नेताको पछि लागेर पत्रकारहरूको छाता सङ्गठन पत्रकार महासङ्घको नेतृत्वमा पुगिन्छ तब कसरी सकिन्छ शासकका कर्तुतहरू विरुद्ध औला उठाउन ? आज तिनै नेता शासक छन् र भोलि तिनै नेता शासक बन्छन जसले आज पत्रकार महासङ्घको नेतृत्वलाई जिताएका छन् वा जिताउने छन्।

कस्तो नेतृत्व चाहिन्छ त ?
नेपाल पत्रकार महासङ्घ नेपालको पुरानो नागरिक अगुवाको संस्था हो। स्थापनादेखि हालसम्म लोकतन्त्रका लागि, नागरिक अधिकारका लागि, पत्रकारहरूका लागि, मिडियाको हकहितका लागि आवाज उठाउँदै आएको छ। भोलिका दिनमा पनि यस्ता विषयमा आवाज उठाउन सक्ने नेतृत्व लिन सक्ने व्यक्तिको खाँचो छ। तसर्थ सुझबुझका साथ मतदान गरौँ, हाम्रालाई होइन हाम्रो लागि काम गर्नेलाई जिताऔँ।

अबको महासङ्घको नेतृत्व व्यावसायिक र निष्पक्षतामा केन्द्रित हुनुपर्छ। अहिले सूचना प्रविधिले फड्को मारेको समयमा पपुलारिटीको लागि कानुनले वर्जित गरेको कामहरू गर्ने अनि अनलाइन पत्रकार हुँ, युट्युबमा च्यानल छ म पत्रकार हुँ भन्दै हिँड्ने जमात ठुलो छ। त्यसैले महासङ्घको सदस्यता वितरणमा ध्यान दिने नेतृत्व महासङ्घमा चाहिएको छ।

महासङ्घले सबैभन्दा पहिला पत्रकारको क्षमता विकासमा ध्यान दिनुपर्छ। पत्रकारले गर्न हुने र गर्न नहुने कामबारे जानकारी गराउनुपर्छ। आलोचनात्मक चेत भएका पत्रकारको विकास गर्न महासङ्घ लाग्नुपर्छ। सूचना र प्रविधिको विकास पत्रकारिताको चुनौतीकारूपमासमेत रहेको देखिन्छ, पत्रकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पनि बोल्नुपर्ने भएकाले उत्तरदायी, जिम्मेवार र मर्यादित हुनुपर्छ।

अन्त्यमा महासङ्घमा आइसकेपछि जस्तोसुकै अवस्थामा पनि पत्रकारहरूमा राजनीतिक प्रभाव देखिन हुँदैन। कुनै पार्टीको सामान्य आस्था हुनु स्वाभाविक हो, तर महासङ्घमा त्यसको प्रभाव देखिन हुँदैन। यदि सत्ताधारी कुनै राजनीतिक दलको निकट पत्रकार भएमा सत्ताले गरेको नराम्रा कामको विरोध गर्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस