सरकार र विप्लव समुहबीचको सहमतिमा हस्ताक्षर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकार र विप्लव समुहबीचको सहमतिमा हस्ताक्षर


२१ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा. राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले आज राष्ट्रियसभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’मा हस्ताक्षर गरे ।

दुवैपक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेताकार्यकर्ता रिहाइलगायत तीनबूँदे सहमति भएको थियो ।

यस्ता छन् सहमति 

१. नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं।
२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ।
३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस