सैनिक मुख्यालय जंगी अड्डामा सुरु भयो ‘पृतनापति समन्वयात्मक बैठक’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सैनिक मुख्यालय जंगी अड्डामा सुरु भयो ‘पृतनापति समन्वयात्मक बैठक’


१९ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउने तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक–२०७७’ सैनिक मुख्यालय जंगी अड्डामा बुधबारदेखि सुरु भएको छ ।

मुलुकको सुरक्षा अवस्थाबारे छलफल गर्न मुलुकभरका जर्नेलहरू यतिबेला जंगीअड्डामा जम्मा भएका छन्। बुधबारदेखि सुरु भएको यो सम्मेलनमा मुलुकको सुरक्षा अवस्थाको नियमित समीक्षा तथा विश्लेषणसँगै मुलुकको समग्र वस्तुस्थितिबारे पनि छलफल हुँदैछ।

बैठकमा सात प्रदेशका सात पृतना प्रमुख र उपत्यका पृतनाका पृतना प्रमुखसहित ८ र मुख्यालयका विभिन्न विभाग र महानिर्देशनालयका प्रमुखहरु बीच आन्तरिक तथा बाह्य सुरक्षाको निगरानी र विश्लेषण, हरेक पृतनाहरुले गरिरहेका क्रियाकलाप र अगामी कार्यदिशाको सम्बन्धमा समेत छलफल हुन्छ ।

उक्त पृतनापति समन्वयात्मक बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका छन् । रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री ओलीले नेपाली सेनाको व्यवसायिकता, लगनशिलता र कर्तव्यबोधको भावनाको उच्च प्रशंसा गरेको सैनिक मुख्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

ओलीले ६/६ महिनामा आयोजना हुने रणनीतिक तहको यस बैठकले विगतको गहन समिक्षासहित नेपाली सेनाको भावी कार्यदिशा र कार्य योजनाको लागि ठोस आधार निर्माण गर्न सफल हुने विश्वास व्यक्त गरेका थिए ।

उक्त अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सबल, सक्षम र सुदृढ संगठनको रुपमा विकास गर्ने लक्ष्य प्राप्तिको लागि परिवर्तनलाई संस्थिकरण गर्दै कार्यसंस्कृतिका रुपमा स्थापित गर्दै लानु पर्ने आवश्यकता रहेको बताए । उनले यो समन्वयात्मक बैठकले विषयगत तथा क्षेत्रगत रुपमा हाल भइरहेका कार्यहरुको बारेमा समीक्षा गर्नुका साथै आवश्यक सुधार, सुदृढीकरण र दिगोपनाका लागि आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीतिको सफल कार्यान्वयनको लागि दक्ष, व्यवसायिक र उच्च मनोबल भएको जनशक्तिको विकासमा नेपाल सरकारबाट प्राप्त निरन्तर सहयोगको लागि धन्यवाद दिएका थिए ।

समन्वयात्मक बैठकको दौरान नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु सहितको प्रस्तुतिकरण हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस