गृहमन्त्रीलाई ताप्लेजुङको दोभान बजारका अग्निपीडितको ज्ञापनपत्र « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गृहमन्त्रीलाई ताप्लेजुङको दोभान बजारका अग्निपीडितको ज्ञापनपत्र


प्रशासन संवाददाता

१९ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । ताप्लेजुङका अग्निपीडितहरूले गृहमन्त्री रामबहादुर थापा (बादल)लाई ज्ञापनपत्र बुझाएका छन् । फागुन १८ गते आगलागी भई विस्थापित भएका ताप्लेजुङको दोभान बजारका पीडितहरूले आफूहरूको दीर्घकालीन पुनर्स्थापनाका लागि भूकम्पपीडितसरहको सहयोग उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

मङ्गलवार आगलागी भई दोभान बजारका ४९ घर जलेर नष्ट भएका थिए भने डेरा गरी बसेका ७९ परिवार विस्थापित भएका थिए । बुधवार ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा दोभान बजार अग्निपीडित राहत तथा सहयोग समिति गठन गरी गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।

आगलागीका कारण आवासविहीन हुन पुगेका पीडितहरूलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने, पहाडी भेगको बजारहरूमा आगलागीबाट हुने जोखिम र क्षति न्यूनीकरण गर्न दमकल तथा पानी ट्याङ्कीको व्यवस्थापन गरिदिन तथा आगलागी पीडितका लागि पीडितको हितमा व्यवस्थित शहरी विकास आयोजनाको व्यवस्था गर्न माग गरिएको प्रतिनिधि सभा सदस्य तथा दोभान बजार अग्नि पीडित राहत तथा सहयोग समितिका संयोजक योगेश भट्टराईले जानकारी दिएका छन् ।

गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्दै ताप्लेजुङका अग्नि पीडितका लागि राहतको काम सुरु भइसकेको बताए । उनले सोमबार नै टेन्ट, ब्याल्यांकेट पठाइएको र मङ्गलवार खाद्यान्न लगायतका अन्य सामग्री पठाइने बताए । आवासका लागि भूकम्प पीडित सरहको मापदण्डको आधारमा आवश्यक रकम उपलब्ध गराउने उनले बताए ।

गृहमन्त्रालयले तत्काल राहतकोरुपमा प्रतिपरिवार १५ हजार रुपैयाँको दरले पठाइसकिएको र कार्यविधि सच्याएर अग्नि पीडितको आवास निर्माणको लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने पनि गृहमन्त्री थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस