तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि हट्ने छैन : प्रमुख आयुक्त राई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि हट्ने छैन : प्रमुख आयुक्त राई


१५ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले तथ्य र प्रमाणको आधारमा भ्रष्टाचार प्रमाणीत भएका कुनैपनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने बताएका छन् ।

घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने बताएका हुन् । ‘मेरो कार्यकालमा भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हट्ने छैन,’ उनले थपे, ‘तर निर्दोष व्यक्तिलाई फसाउन खोज्नेलाई पनि कारबाहीको दायरामा ल्याइनेछ’, उनले भने ।

प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण नै आफ्नो पहिलो प्राथमिकता भएकाले यसलाई न्यूनीकरण र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । समाजको प्रमुख सल्लाहकार समेत रहेका राईलाई समाजले पदबहाली गरेपछि पहिलोपटक स्वागत कार्यक्रमको आयोजना गरेको थियो ।

उनले नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानूनसम्मत ढङ्गले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

आयोगको इतिहासमै भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास गर्ने प्रमुख आयुक्त राईले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस