सात दिनभित्रै पशुपतिमा जलहरी जडान हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सात दिनभित्रै पशुपतिमा जलहरी जडान हुने


९ फाल्गुन २०७७, आइतबार


काठमाडौँ। पशुपतिनाथको मन्दिरमा सात दिनभित्रै जलहरी जडान हुने भएको छ । पशुपतिनाथ ज्योतिर्लिङ्गमुनिको जलहरीलाई सुनले मोर्ने गरी १०८ किलो सुनको जलहरी बनिरहेको छ ।

जलहरी पाटनका कालिगढले एक सातादेखि बनाइरहेका छन् । जलहरी बनाउने कार्य मन्दिर परिसरमा नेपाली सेनाको कडा सुरक्षाबीच भइरहेको छ ।

पशुपतिनाथमा क्षमापूजा नगरी नयाँ धातु जडान कार्य गर्न नहुने भएकाले दक्षिण भारतबाट ४० जना पण्डित क्षमापूजाका लागि पशुपति आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शनिवारदेखि ती पण्डितहरूले सात दिन निरन्तर क्षमापूजा गर्नेछन् । क्षमापूजाको एक विधि शनिबार सम्पन्न भएको छ ।

१०८ केजी सुनमा तीन किलो तामा र एक किलो चाँदी मिश्रण गरिने छ । जलहरी पञ्चधातुसहितको बनाउनुपर्ने विधान छ । त्यसका लागि आवश्यक पर्ने सुन नेपाल राष्ट्र बैङ्कबाट खरिद गरिएको छ । जलहरीपछि पशुपति मन्दिर परिसरको बसाहा, छाना र गजुरसमेतमा सुन लेपन गर्ने योजना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस