सरकारी जागिरको रहस्य ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारी जागिरको रहस्य !


८ फाल्गुन २०७७, शनिबार


करिब २ वर्ष अघिको कुरा हो । नियमित जसो त्यो दिन पनि आफ्नो कार्यालय जाँदै थिए । त्यो दिनको मौसम अरुदिन भन्दा अलि फरक थियो । असारको महिना अघिल्लो दिनदेखि नै सिमसिम पानी परिरहेको थियो । त्यसैले कार्यालय जान घरको दुई पाङ्ग्रे भन्दा सार्वजनिक बसको सहायता लिन उत्तम लाग्यो । करिब २० किलोमिटरको यात्रा गरी कार्यालय पुग्न पनि बसले धेरै समय लगाउने कुरामा निश्चिन्त भई बस चढियो । बस आफ्नै गतिमा चल्दै थियो । बस भित्र चर्को स्वरमा ड्राइभर दाइले लोकगीत घन्काइरहेका थिए । ‘सालको पातको टपरी हुनि हे… बरै नहुनी सल्लैको ….’ ।

करिब ५ किलोमिटरको दुरी पार गरेपछि अर्को स्टेसन आयो । केही व्यक्तिहरू ओर्लिए र केही नयाँ व्यक्ति बसभित्र प्रवेश गरे । त्यहीँ नयाँ व्यक्ति मध्ये एक आकर्षक युवतीको पनि प्रवेश भयो । मैले मेरै छेउमा बसेको कल्पना गरे । कहिलेकाहीँ हाम्रो मन पनि यति रफ्तारमा हिँड्छ कि चार पाँच सेकेन्डमै कल्पना मात्रै होइन मस्तिष्कलाई नै निर्णय गराउन पनि बाध्य तुल्याउँछ । कल्पना जे गरिएको थियो त्यहीँ भयो ।

सेतो सर्ट, कालो पाइन्ट, कालो जुत्ता अनि खैरो आस्कोट लगाएकी अन्दाजी २१–२२ वर्षकी अविवाहित ती सुन्दरी जो नबस्दै परैबाट अत्तरको बास्ना मेरो नाकमा आएर ठोकियो । हुन त धेरै दिन पछि मैले पनि आस्कोट लगाएको थिएँ । तर न त आस्कोटमा न त सर्टपाइन्टमा, आइरन गर्न भने भुसुक्कै बिर्सिएछु । उनको चिटिक्क परेको र धार बसालेर आइरन गरेको वस्त्रले मेरो निलो पाइन्ट, सेतो सर्ट अनि निलो आस्कोटलाई गिजाए जस्तो लाग्यो ।

केटी हेर्दा सुन्दर थिइन् । त्यसमा पनि उनको त्यो पहिरनले उनी बैङ्ककी कर्मचारी हुन भनेर छुट्याउन मलाई गाह्रो भएन । उनी चुपचाप मेरो छेउमा बसिन् । अनुहार हेर्दा अलि हताश र हतारमा रहेको जस्तो देखिन्थ्यो भने हातमा लगाएको घडी पटक पटक हेरेको देखियो । तर उनले कर्के नजरलेसमेत एकपटकसम्म पनि नहेरेको हुँदा उहीँ मनमा काल्पनिक कुरा खेलाउँदै थिए । तर एक छिनमै मनले आँट गरिहाल्यो अनि मस्तिष्कले निर्णय ।

‘तपाईँ बैङ्कको जागिरे हो र ?’ पहिलो प्रश्न झ्याप्प आयो ।

उत्तर आयो – ‘हजुर हो।’

बोली मिठो थियो । अनि शालीनता पनि।

कुन बैङ्क हो नि ? दोस्रो प्रश्नको उत्तरमा आफू ‘क’ वर्गको वाणिज्य बैङ्कको कर्मचारी भएको बताइन ।

अनि हजुर नि ? उनको प्रश्नमा मैले आफ्नो सबै परिचय दिएँ ।

उत्तरका साथ म प्रति उनको झुकावमा परिवर्तन आयो । अलि नजिकिएर कुरा गर्न खोजिन् । निलो पाइन्ट र सेतो सर्टले काम गरेकोमा म पनि खुसी र आनन्दित भएँ ।

अनि उनले आफै सङ्ग गुनासो गरिन् ‘खै ! आफ्नो त सरकारी जागिर भाग्यमै छैन जस्तो छ ।’

किन नहुनु नियमित रूपमा जिज्ञासु तरिकाले अठोट लिएर पढ्ने हो भने नाम निकाल्न गाह्रो छैन तर जागिर र पढाई सँगै गर्दा अलि गाह्रो हुन्छ कि ? मैले भने ।

यसो भन्दै गर्दा पनि उनले फेरि हातमा लगाएको घडी हेरिन् । मैले घडी हेरिरहनुको कारण सोधेँ ।

उनले आज ढिला भएको कुरा गरिन् । भर्खर ९ः४५ भएको छ त ? १० बजे पुगिहाल्नु हुन्छ नि ! किन हतार गर्नुहुन्छ ?

होइन हामी ९ः३० मा नै पुग्नु पर्छ । आज ढिलो भो । हाकिमलाई जानकारी गराएकै छैन एक छिन है त म बि. एम । सरलाई फोन गर्छु । उनले शाखा प्रमुखलाई फोन गरिन् । बसमा गीत बजेकाले आवाज सुनिँदैन की भनेर लाउड स्पिकरमा कुरा गर्न खोजिन् । तर म त्यति बेला तिनछ्क परे जतिबेला शाखा प्रमुखले उनको जवाफको उत्तर फर्काए।

बि.एम.को उत्तरसँगै गहभरि आँसु लिएर ल म गए है ! भन्दै बिच बाटोबाटै घर फर्किन् ।

हाकिमले कुनै हालतमा अफिस नआउन, कार्यालयको सिस्टम नभत्काउन, ढिलो आउनेलाई कार्यालयमा कुनै ठाउँ नभएको र यस अघि पनि यसै गरी तपाईँ ढिलो आएको जस्तो अभिव्यक्ति अलि कठोर र अहङ्कारको भाषा व्यक्त गर्दा उनी प्रति एकदम सहानुभूति जागेर आयो ।

त्यति बेला झट्ट सम्झिहाले । सरकारी सेवामा पनि यस्तै हाकिम नभएर हो कि कार्यालयहरूमा सुधार नभएको जस्तो लाग्यो । तर पनि मैले आफैलाई सान्त्वना दिँदै आफ्नै जित निकाले, आजको जमानामा पनि थर्काएर हुन्छ ? कर्मचारीलाई फकाएर पो काममा लगाउनु पर्छ ।

एउटा महिला माथि यसरी तीखो वचनले गाली गर्दा कस्तो अनुभूति भए होला । मलाई उनले थर्काएको भन्दा पनि हाकिमको कारण उनी चाँडै झरेकोमा रिस उठिरहेको थियो भने नाम र ठेगाना पनि नसोधीकन एक अप्सरा आफ्नो आँखा अगाडि आँसु लिएर विलय हुँदा धेरै दिनसम्म उनको अनुहार अनि शालीन जवाफ मानसपटलमा गुन्जिरह्यो ।

दिन आफ्नै रफ्तारमा अघि बढ्दै गए । केहिदिन अघि मात्रै बैङ्कको चेक साट्न राष्ट्रिय वाणिज्य बैङ्कको एउटा शाखामा गए । त्यहाँ शाखा प्रमुख एउटा महिला थिइन् । ती महिला तिनै थिइन् जुन मैले २ वर्ष अघि भेटेको थिए । मलाई चिन्न गाह्रो भएन किनकि यी पापी आँखाले कि त धेरै राम्रो अनुहार सम्झिरहन्छ कि त कुरूप पात्र । तपाईँ हामी मध्यम स्तरकाहरु त काम गर्दा र अरूको फाइदाका लागि मात्रै सम्झिन लायक पात्र हौँ ।

दुई वर्ष अघिकी ती केटी आज विवाहित थिइन् । दुई वर्ष अघिकी प्राइभेट बैङ्ककी कर्मचारी आज सरकारी बैङ्ककी शाखा प्रमुख भएकी छन् ।

मैले नमस्कार गरेँ । सायद चिनेरै होला नमस्कार गर्दै भित्र आउन आग्रह गरिन् ।

कुराकानीका क्रममा यहाँसम्म आउनुको सबै रहस्य मेरा सामु व्यक्त गर्दा मेरो निजामती ड्रेस अनि मैले भनेको छोटो अभिव्यक्तिले पनि उनको दिमागमा सकारात्मकताको काम गरेको रहेछ ।

त्यस दिनको हाकिमको तीखो बचनले धेरै दिनसम्म मानसिक तनावमा रहेको र केहिदिन पछि नै जागिर छोडेर सरकारी जागिर नखाई नछाड्ने प्रण लिएर पढ्न सुरु गरेकी उनले एक वर्षमै अधिकृत स्तरमा नाम निकालेको रहेछ । छ महिना अघि बिहे गरेको कुरा सुनाइन् । किताब पढ्दा पटक पटक मैले लगाएको सरकारी ड्रेसलाई सम्झिएको र त्यसबाट आफूलाई पढ्न हौसला मिलेको बताइन् । मलाई भने त्यस दिन आइरन नगरेकोमा आज पनि पछुतो भइरह्यो …

 

Tags :
प्रतिक्रिया दिनुहोस