‘पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठेको छ, यसको गुणस्तर मापन गर्नुपर्ने बेला आयो’ « प्रशासन
Logo ८ आश्विन २०७८, शुक्रबार
   

‘पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठेको छ, यसको गुणस्तर मापन गर्नुपर्ने बेला आयो’


६ फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारितामाको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको बताएका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकारसँगको अन्तक्र्रियामा मन्त्री गुरुङले सबैखाले प्रत्रकारलाई एउटै रुपमा हेर्न नमिल्ने भएपनि पत्रकारितामा अराजकता र विकृति मौलाउँदै गएको र विश्वसनीयतामा प्रश्न उठ्न थालेकाले यसको पनि गुणस्तर मापन गर्नुपर्ने बेला आएको बताएका हुन् ।

‘सबैलाई एउटै डालोमा राखेर हेर्नु हुँदैन तर पत्रकारितामा अराजकता र विकृति मौलाउँदै गएको छ, विश्वसनीयतामा प्रश्न उठ्न थालेको छ, यसको पनि गुणस्तर मापन गर्नुपर्ने बेला आएको छ ।’ उनले भने

मन्त्री गरुङले सरकारको आगामी नीति/कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन पनि आग्रह गरेका छन् । उनले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सुझावको माग गरे । उनले भने ‘सञ्चार क्षेत्रमा नीतिगत सुधारसँगै थुप्रै सुधार गर्नुपर्ने छ, त्यसका लागि सञ्चार क्षेत्रका विज्ञहरुको सुझावको आवश्यकता छ ।’

सरकारका प्रवक्ता गुरुङले दूरसञ्चारमा देखिएका समस्याका कारण पनि दुर्गम जिल्लाका पत्रकारले समस्या भोग्नुपरेको विषयलाई जतिसक्दो चाँडो सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पु¥याउने सरकारको योजना सुनाए ।

उक्त अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले महासङ्घ सधैँभरि पत्रकारको अधिकारका निम्ति लड्दै आएको र आगामी दिनमा पनि लडिरहने प्रतिबद्वता व्यक्त गरे। विज्ञापन बोर्डका सदस्य बलराम थापाले प्रत्येक जिल्लाको सुझावका आधारमा लोककल्याणकारी विज्ञापनमा देखिएको समस्या समाधान गरिने बताए ।

महासङ्घ सप्तरीका अध्यक्ष जीतेन्द्र खड्गाले लोककल्याणकारी विज्ञापन प्रकाशन गरेवापत पाइने रकम जिल्लाबाटै भुक्तानी हुने व्यवस्था मिलाउनुपर्ने माग गरे । महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटाले सङ्घ, प्रदेश र स्थानीय सबै निकायमा सञ्चारमाध्यम दर्ता गर्ने व्यवस्था मिलाउन आग्रह गरे।

महासङ्घ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले पत्रकारिता अध्ययन गर्न चाहने पत्रकारका लागि छात्रवृत्तिको माग गरे। महासङ्घका सचिव शीतलप्रसाद महतोले आमसञ्चारमाध्यम विषयवस्तु र सहभागिताको हिसाबले समावेशी हुनुपर्नेमा जोड दिए।

Tags :
प्रतिक्रिया दिनुहोस