गाउँपालिका उपाध्यक्ष मनिला विष्टले राजिनामा नदिएको अदालतको ठहर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गाउँपालिका उपाध्यक्ष मनिला विष्टले राजिनामा नदिएको अदालतको ठहर


५ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । उच्च अदालतले मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट राजिनामा नदिएको फैसला गरेको छ ।

अदालतले विष्टलाई उपाध्यक्षको हैसियतमा नियमित कामकाज गर्नमा अवरोध नगर्न गाउँपालिकालाई आदेश समेत दिएको छ । उच्च अदालत पाटन, हेटौँडाका न्यायाधीश महम्मद साविर हुसेन र चण्डीराज ढकालको संयुक्त इजलासले मनिला विष्टले राजिनामा दिएको कुरालाई खारेज गरिदिएको विष्टकोतर्फबाट बहस गर्नुभएका अधिवक्ता मदनकुमार दाहालले जानकारी दिए ।

अदालतले विष्टले राजिनामा दिएको भन्ने कुरा प्रमाणित नभएको भन्दै नियमित कार्यमा रोकतोक हुनु नहुने बताएको अधिवक्ता दाहालले भने । फैसलापछि उपाध्यक्ष विष्टले अदालतले आफूप्रति न्याय गरेको बताइन् । “मैले राजिनामा दिएकै थिएन, मप्रति अन्याय भएको थियो, अदालतले मलाई न्याय दियो”, उनले भनिन् ।

मनहरी गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष दुवै जना तत्कालीन नेकपा(एमाले) बाट विजयी भएका हुन्। गाउँपालिकाका क्रियाकलाप सञ्चालनका क्रममा केही समयदेखि दुवै जनाबीच मतभेद उत्पन्न भएपछि मतभेदकैबीचमा गत मङ्सिर २९ गते उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिएको खबर सार्वजनिक भएको थियो ।

गत पुस १९ मा गाउँपालिका अध्यक्ष एकलाल उप्रेतीले राजिनामा स्वीकृत गरिएकोसमेत जनाएका थिए । कार्यपालिकाले माग गरेकाले राजिनामा स्वीकृत गरिएको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस