एचआइभी सङ्क्रमित बालबालिकालाई पढाउन ठोस योजना ल्याउँछौँ : मन्त्री श्रेष्ठ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एचआइभी सङ्क्रमित बालबालिकालाई पढाउन ठोस योजना ल्याउँछौँ : मन्त्री श्रेष्ठ


४ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले एचआइभी सङ्क्रमित बालबालिकालाई पढाउनका लागि सरकारले ठोस योजना ल्याउन लागेको बताएका छन् ।

कीर्तिपुरको भत्केपाटीस्थित ‘सफलता एचआइभी शिक्षा सदन’ ले आज आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा उनले एचआइभी सङ्क्रमित बालबालिकाको पठनपाठनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । ‘सङ्क्रमित बालबालिका पढाउने दायित्व राज्यको हो, हामी त्यसका लागि चाँडै योजना ल्याउँदैछौँ’, उनले भने ।

मन्त्री श्रेष्ठले सङ्क्रमित बालबालिकालाई उच्च शिक्षा आवश्यक रहेको चर्चा गर्दै अहिलेको अवस्थामा सहज नभएको उल्लेख गरे । सङ्क्रमित बालबालिकाको पठनपाठनको विषय सरकारले नीति तथा कार्यक्रममै उल्लेख गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले आगामी आर्थिक वर्षमा त्यसलाई समावेश गरिने बताए । ‘शिक्षामा नयाँ परिवर्तनको खाँचो छ, कार्यदल बनाएर योजना अघि बढाउँछौँ’, उनले भने । सङ्क्रमित बालबालिका अझै पनि समाजका अपहेलित हुनुपरेको र त्यसको अन्त्य जरुरी भएको उनको भनाइ थियो ।

समाजमा एचआइभी सङ्क्रमित लुकेर बस्न नहुनेमा जोड दिँदै मन्त्री श्रेष्ठले आफ्नो परिचय खुलाउँदै अघि बढ्न सुझाव दिए । “सरकार एचआइभी सङ्क्रमितको साथमा छ, सरकारले अभिभावकको जिम्मेवारी निर्वाह गर्छ’, उनले भने । सरकारले सातवटै प्रदेशमा एचआइभी सङ्क्रमित बालबालिकालाई पठनपाठनका लागि योजना ल्याउने मन्त्री श्रेष्ठले उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा ‘सफलता एचआइभी शिक्षा सदन’ सञ्चालनका लागि रु एक करोड उपलब्ध गराइएको सो अवसरमा मन्त्री श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्यले शिक्षा सदनको भ्रमण गरी जानकारी लिएको र ततपश्चात् अध्ययनरत सङ्क्रमित बालबालिकालाई जनही ३ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइँदै आएको उनले स्पष्ट पारे ।

उक्त अवसरमा सफलता एचआइभी शिक्षा सदनका संस्थापक अध्यक्ष राजकुमार पुन र उपाध्यक्ष उमा गुरुङले सङ्क्रमित बालबालिकाको अवस्थाका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएएका थिए्। पुन र गुरुङ मिलेर आफ्नै लगानीमा ११ वर्ष अघि भत्केपाटीमा आठ आना जग्गामा दुई तले भवन निर्माण गरी उक्त शिक्षा सदन सञ्चालन गरेका हुन् । हाल यहाँ देशका विभिन्न जिल्लाबाट ल्याइएका २७ सङ्क्रमित बालबालिका अध्ययन गरिरहेका छन् । उत्तल सदनमा दश कक्षासम्मको पठनपाठनको व्यवस्था गरिएको छ ।

‘उच्च शिक्षा अध्ययन गर्नका लागि बालबालिकालाई मुश्किल भएको छ”, संस्थापक अध्यक्ष पुनले भने । उच्च शिक्षाका लागि सरकारको सहयोगको आवश्यकतामा उनले जोड दिए । एचआइभी सङ्क्रमित बालबालिकालाई भर्ना गर्न शिक्षण संस्थाले आनाकानी गर्दै आएको उनको भनाइ थियो । शिक्षा सदनकी संस्थापक उपाध्यक्ष गुरुङले एचआइभी सङ्क्रमित बालबालिका शिक्षाबाट वञ्चित भएको र त्यसका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिए । ‘सङ्क्रमित बालबालिकाले आफ्नो परिचय दिएरै पढ्न पाउने वातावरण बनेको छैन, अपमानित भएर बस्नु परिरहेको छ’, उनले भने ।

सो अवसरमा काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चिनकाजी महर्जन, नेकपाका कीर्तिपुर नगरकमिटी अध्यक्ष राधाकृष्ण बस्नेत, इनरह्वील नेपालकी पूर्व ‘डिस्टिक चेयरम्यान’ सुनी जोशी र नेपाल पौडी सङ्घका कोषाध्यक्ष नाजिर उदीनले ‘सफलता एचआइभी शिक्षा सदन’लाई नगद रु ४५ हजार सहयोग प्रदान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस