विकास र समृद्धिका लागि निर्वाचन :उपप्रधानमन्त्री पोखरेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विकास र समृद्धिका लागि निर्वाचन :उपप्रधानमन्त्री पोखरेल


२ फाल्गुन २०७७, आइतबार


गण्डकी । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्

प्रेस सङ्गठन नेपाल, गण्डकी प्रदेशस्तरीय भेलाको आज पोखरामा उद्घाटन गर्दै उनले राजनैतिक स्थायित्व र समृद्धिको अभियानलाई पूरा गर्न ताजा जनादेशमा जान खोजिएको स्पष्ट पारे ।

प्रतिनिधिसभा विघटन रहर नभई बाध्ययता भएको उल्लेख गर्दै निर्वाचनलाई सफल पार्न सबैको साथ र सहयोग अपरिहार्य हुनेमा उनको जोड थियो । मुलुकको समृद्धि र राजनैतिक स्थिरताका लागि पार्टीको एकीकरण भएको चर्चा गर्दै पोखरेलले पार्टीभित्र देखिएको पदोलोलुपता र सत्तालिप्साको कारण लक्षित योजनाले साकार पाउन नसकेको धारणा राखे ।

पत्रकार पेशागत दक्षताको विकाससँगै विचारमा जिम्मेवारी हुनुपर्नेमा जोड दिँदै उनले सरकारले तीनवर्षे कार्यकालमा गरेका उपलब्धिलाई जनता समक्ष पुर्‍याउन मिडियाले भूमिका खेल्नुपर्ने बताए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कोपी शर्मा ओली नेतृत्व नै नेकपा आधिकारिक पार्टी भएको कारण सूर्य चिन्ह पनि बाहिर नजाने बताउँदै उनले मुलुकको स्थायित्वका लागि निर्वाचनमा जुट्न सबैलाई आग्रह गरे ।

सरकारले जनतालाई स्वास्थ्यमा पहुँच पुर्‍याउने लक्ष्यका साथ मुलुकको इतिहासमै पहिलो पटक एकै दिनमा ३०९ वटा अस्पतालको शिलान्यास गरेको बताउँदै उनले अस्पतालको भौतिक संरचना निर्माणका लागि रु ५६ अर्ब विनियोजन गरेको जानकारी दिए।

गण्डकी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य किरण गुरुङले जनाधार बलियो भएको पार्टीमा बासको सुत्लो उकिएको एउटा टुक्राले पार्टीलाई कुनै असर नपर्ने बताए । पूर्वमन्त्री तथा नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सहईञ्चार्ज खगराज अधिकारीले लोकतन्त्रमा निर्वाचन सर्वोत्तम विधि भएको बताउँदै देशव्यापी पार्टीले गरेको जनप्रदर्शन निर्वाचनको तयारीका लागि भएको स्पष्ट पारे ।

पूर्वमन्त्री तथा पार्टी केन्द्रीय सदस्य जगत विश्वकर्माले पार्टीेको आन्तरिक जीवनमा घटेको घटनाले राष्ट्रिय स्वाधिनता र अधूरो समृद्धिको यात्रालाई पूरा गर्न निर्वाचनमा जानुको विकल्प नभएको बताए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजीवी पत्रकारहरुको छाता सङ्गठन पत्रकार महासङ्घले पार्टी र व्यक्तिको नभई श्रमजीवी पत्रकारको हितमा काम गर्नुपर्ने बताए । नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारले व्यावसायिक मर्यादा पालना गर्दै जनताको अधिकारको सुनिश्चितता एवं लोकतन्त्रको रक्षातर्फ लाग्नुपर्ने बताए ।

प्रेस सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सङ्गठनलाई सुदृढ र सङ्गठित रुपमा अघि बढाउन सबैको सहयोग आवश्यक रहने बताउँदै विगतमा नखुलेका प्रेस सङ्गठन सम्वद्ध सदस्य पछिल्ला दिनमा मूलधारतर्फ आकर्षित भएको जानकारी दिए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं सङ्गठनका इञ्चार्ज राजेन्द्र गौतम, प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारी, न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष गङ्गाधर पराजुली, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, सङ्गठनका नेताहरु गणेश पाण्डे, शान्ति गुरुङ, दुर्गा शर्मा, पत्रकार उजिर मगर, रामकृष्ण शर्मालगायतले मुलुकको वर्तमान अवस्था र पत्रकारिता क्षेत्रको भूमिका माथि चर्चा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस